झापा । रोजगारीका लागि विदेशी भूमी ओमान पुगेर अलपत्र परेकी झापाकी युवतीको उद्धार गरिएको छ ।
झापाको मेचीनगर नगरपालिका-१५ की २८ वर्षीया सञ्जिता राजबंशीलाई उद्धार गरेर नेपाल ल्याइएको हो । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक रु ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्याएको थियो ।
ब्यूटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पुर्याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरर्जस्ती लगाउने प्रयास गरेको थियो । पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले सञ्चार माध्यमहरुमा बताएकी छन् ।
उनले आफु पिडित बनेको खबर आफ्नो परिवारसम्म पुर्याएपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्माको पहला ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरेको हो । उद्धारपछि यही मङ्सिर ११ गते उनी आफ्नो घर आईपुगेकी छन् ।
ओमानमा अलपत्र परेपछि सञ्जिताका परिवारका सदस्यहरुले उद्धारका लागि स्काइ मेनपावर कम्पनी र अप्सरा ब्यूटीपार्लर गुहारेका थिए । दुबै पक्षले आफूले जिम्मेवारी नलिने बताएपछि सञ्जिताका काका वृक्षलाल राजबंशी सांसद विश्वप्रकाश शर्मालाई भेट्न गएका थिए ।
सांसद् शर्माले ओमानस्थित नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको उद्धार भएको थियो ।