धरान । धरानमा दुई दिने सांगीतिक उत्सव “धरान म्युजिक फेस्ट २०८० “ आयोजना हुने भएको छ ।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिन धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य म्युजिकल कन्सर्ट “धरान म्युजिक फेस्ट २०८०“ हुन लागेको हो ।
कार्यक्रमको पहिलो दिन शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि “ संगै गायिका एलिना चौहानको बिशेष प्रस्तुति रहनेछ। “पहेंलो बत्ति मुनि “ को गौंथली , लोरी , बरी लै , म बाटो हिँड्ने लगायतका गीतहरु युवाहरु माझ निक्कै नै चर्चित छन्। त्यस्तै अहिले निक्कै नै व्यस्त एलिना चौहानको धोकेबाज संगै भाग्यमा खोट छ , तिम्रो मायाले बाँधेर राख , के माया लाग्छ र लगायतका थुप्रै गीतहरु लोकप्रिय छन् । सोही दिन धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछ ।
दोस्रो तथा अन्तिम दिन गायिका मिलन नेवार र धरानका प्रतिभावान गायक पूणर् राईको बिशेष प्रस्तुति रहनेछ। जहिले सम्म संसार, गाला रातै, फुल बुट्टे सारी जस्ता थुप्रै चर्चित गीतहरुकी गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो। धरानको सांगीतिक प्रतिभा पूणर् राईको गीत “ तिमी सेतो चिल्लो गाडी “ करिब एक महिनादेखि युट्युबको संगीत विधा तर्फ नेपालको ट्रेन्डीङ्गमा पहिलो स्थानमा रहिरहेको छ।
उक्त दिन धरानकै लासोज ब्याण्ड र दिब्यासन घिमिरेको समेत प्रस्तुति रहनेछ। त्यस्तै धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिने केही संगीतकर्मीहरुलाई “धरान म्युजिक फेस्ट २०८० “को स्टेजमा सम्मान समेत गर्ने योजना आयोजकको रहेको छ।