धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु




स्वर्णिम राई
विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलिले धरानमासुरु गरेको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई सहित बिहीबार विहान धरान उपमहानगरपालिका–१७ को डाँडाघोपा पुगेको टोलिले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा पुगेर भौगोलिक अवस्थितिको अध्ययन गरेको हो ।
पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किरातीको निर्देशनमा गत कार्तिक २३ गते प्राधिकरणका प्रबन्धक नल बिक्रम थापाको संयोजकत्वमा बरिष्ठ कानून अधिकृत बिमल खनाल र चार्टर्ड एकाउण्टेण्ट अनिल बस्नेत सदस्य रहेको टोलि गठन भएको थियो । बुधबारै धरान आईपुगेको टोलिले उपमहानगरपालिकामा छलफल गरे पश्चात बिहीबार स्थलगत अध्ययन सुरु गरेको हो । अध्ययन टोलिका संयोजक नल बिक्रम थापाले विगतमा भएका अध्ययन प्रतिवेदनलाई नै आधार मानेर अध्ययन अघि बढाईएको बताए ।
त्यही स्थानमा विमानस्थल निर्माणका लागि भनेर प्राधिकरणले पहिला पनि अध्ययन गरेको थियो । प्राधिकरणले २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्र पठाउँदै एटीआर ४२ सिट क्षमताको जहाजका लागि विमानस्थल निर्माणा गर्न करिब ९३.२५ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरेको थियो । अध्ययन टोलिका संयोजक थापाले हाल नेपालमा ७२ सिट क्षमताका जहाजहरु प्रचलनमा रहेकाले उक्त जहाजका लागि विमानस्थल बनाउन अझै धेरै जग्गा आवश्यक पर्ने बताए ।
डाँडा घोपामा निजी कम्पनी यति इन्कर्पोरेट प्रालिले विमानस्थल निर्माण गर्ने भनेर २०६० सालमा करिब ७ विघा जग्गा खरिद गरेको थियो । निजी कम्पनीले विमानस्थल निर्माण गर्न पाउने स्पष्ट कानून नरहेकाले विमानस्थल बन्न सकेको छैन ।
तत्कालिन समयमा विमानस्थलका लागि सस्तो दाममा जग्गा बिक्री गरेका स्थानीयवासी भने विमानस्थल नबन्ने भए आफ्नो जग्गा फिर्ता हुनु पर्ने माग गरिरहेका छन् । विहीबार स्थलगत अध्ययनमा पुगेको टोलि समक्ष पनि स्थानीयवासीले विमानस्थल निर्माण गर्ने भए तुरुन्तै सुरु गर्न, नबन्ने हो भने जग्गा फिर्ता गर्न माग गरेका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले स्थानीयलाई सम्बोधन गर्दै यति इन्कर्पोरेटको नाममा रहेको जग्गा पनि उपमहानगरको नाममा ल्याएर विमानस्थल निर्माणको काम छिटै अघि बढाउने बताए । उनले भने प्राविधिक टोलिले नापजाँच गरेपछि कस्तो प्रतिवेदन आउँछ, त्यसअनुसार श्रमदान गरेर भएपनि विमानस्थल बनाउँछौं ।’