धरानमा राष्ट्रिय प्रविधि उत्सव हुने




धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा राष्ट्रिय प्रविधि उत्सव आयोजना गरिने भएको छ ।
क्याम्पसका विद्यार्थीहरूले माघ पहिलो हप्ता पाँचौं संस्करणको राष्ट्रिय प्रविधि उत्सव ‘डेल्टा ४.०’ आयोजना गर्ने भएका हुन् । उत्सवमा देशभरि रहेका विश्वविद्यालय र कोशी प्रदेशका प्राविधिक शिक्षालयका विद्यार्थीहरूको प्रतिस्पर्धामक सहभागिता रहने कार्यक्रमका संयोजक कल्याण बास्कोटाले जानकारी दिए ।
क्याम्पस हातामा तीन दिनसम्म सञ्चालन हुने उत्सव बारे पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । उत्सवमा करिब २० हजार जनाको उपस्थिति रहने अनुमान गरिएको आयोजकले जनाएको छ । सो उत्सवमा हरित प्रविधिअन्तर्गत फोहोरलाई ऊर्जामा रूपान्तरण गर्ने प्रविधिका साथै दीगो संरचना, नवीकरणीय ऊर्जा, नयाँ ऊर्जाको स्रोत खोजी गर्ने जस्ता विषयमा प्रदर्शनी र बहस हुने कार्यक्रमका सह–संयोजक विवेक न्यौपानेले जानकारी दिए ।