अम्लिसोको भाउ बढ्यो किसान खुसी




धरान ः गत वर्षको तुलनामा यस वर्ष (अम्लिसो) को भाउ बढेपछि किसान खुसी भएका छन् ।
धरानका कृषि उपज बजारका अनुसार यस बर्ष अम्लिसोको मूल्य १५० रुपैयाँमा किनबेच भइरहेको छ । गत वर्ष यही समयमा प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । पछिल्लो समय पूर्वी पहाडी भेगका धेरै कृषक नगदेबाली छाडेर व्यावसायिक रूपमा अम्लिसो खेतीमा आकर्षित भएका छन् ।

अम्लिसोको कुचोबाट राम्रो आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । एक वर्षमा एकपटक उत्पादन हुने अम्लिसो तराईको बजारमा सजिलै बिक्री हुने भएकोले धेरै जसो किसानहरू यस खेतीतर्फ आकर्षित हुन थालेको अम्लिसो खेती गर्दै आएका धनकुटाका कृषक दिनेश राईले बताए । उनका अनुसार एक सिजनमा करिव २५ देखि ३० क्विन्टलसम्म अम्लिसो बिक्री गर्दै आएको छु ।

कुनै सयम बिक्री नभएर वस्तु चौपायको आहारा बन्ने अम्लिसो अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम ,संखुवासभा ,भोजपुर, सुनसरी र पुर्वी पहाडी भेगका धेरै किसानहरुले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्लिसो खेती गर्न थालेका छन् । ओरालो र भिरालो ठाउँमा राम्रो उत्पादन हुने अम्लिसोबाट आम्दानी राम्रो लिन थालेको उनी बताउँछन् । धनकुटाका व्यापारी राजकुमार राई भन्छन्, ‘केही समय अगाडि प्रतिकेजि रु ९० देखि १०० रहेको मूल्य रहेको अम्लिसो अहिले बढेर रु १५० पुगेको छ ।’ उत्पादन कम भएकाले भारतबाट अत्यधिक माग आइरहेको छ ।
केही किसानले पहिलेकै कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ छ । “कुचो जुन सालको हो । त्यही साल नै बेचिसक्नुपर्छ । अर्को साल पर्खियो भने गुणस्तरहीन हुन्छ”, उनले भने । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को साल बेच्ने गरेका कारण भाउ नपाउने उनको भनाइ छ ।
यस वर्ष भने भाउ उल्लेखनीय भएकाले किसान खुसी छन् । अम्लिसोको मुल्य बढेकाले धनकुटाका राईले यस वर्ष बारीकोे सबै अम्लिसो निकालेर बेच्न शुरु गरेको जानकारी दिए । भाउ घटबढ हुने भएकोले यस वर्ष चाँडै बेच्न हतारिएको पनि उनले बताए । अम्लिसो रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र हेरचाह गर्न पनि खासै मेहनत गर्नु नपर्ने भएकाले किसान अम्लिसो खेतीतर्फ आकर्षित छन् ।
थोरै लगानी र कम खर्चमा धेरै आम्दानी हुन थालेपछि एक जना कृषकले धेरै क्षेत्रफलमा अम्लिसो खेती गर्न थालेका छन् । पूर्वी पहाडी जिल्लामा उत्पादित अम्लिसोको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ । अम्लिसोको मुख्य सिजन पुसबाट भए पनि यो वर्ष अम्लिसोले उच्च मुल्य पाएकै कारण किसानहरूले अगाडिदेखिनै गाडीमा लोड गरेर धरानको कृषि बजारसम्म अम्लिसो ल्याउने गरेको व्यवस्थापक भट्टराईले बताए ।
‘अम्लिसोलाई प्रसोधन गरेर पठाउन सके अझ राम्रो हुन्छ, व्यावस्थापन आधुनिकीकरण गर्न सके नेपालमै रोजगारीको सिर्जना समेत गर्न सकिन्छ’ उनले भने । यहाँ भारतीय व्यावसायी आफै आएर लाने गरेको पनि उनले बताए । धेरैजसो अम्लिसो जाने भनेको मुठा, भारी हो । यहाँबाट वर्षमा ४५ देखि ५० मेट्रि«क टनसम्म बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले बताए । भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको भाउ अझै बढ्न सक्ने उनको अनुमान छ ।
स्वर्णिम राई