स्वर्णिम राई/धरान
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको धरानमा सम्पन्न २ दिने बैठकले गरेका १० सूत्रीय निर्णय सार्वजनिक गरिएको छ ।
शनिबार धरानमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको निर्णय अनुसार इलाममा हुने सङ्घीय सांसदको उपनिर्वाचनमा पहिचानवादीहरूको साझा उम्मेदवार उठाइने भएको छ । संविधान सभाका पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र २ संसदीय निर्वाचन क्षेत्र रिक्त रहेको छ ।
बैठकले प्रदेशको नाम ‘कोशी’ राखिएको दिन फागुन १७ गतेलाई कालो दिन मनाउन आउँदो फागुन १७ गते प्रदेश १ मा आम हडताल गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेश सभा, सरकार र प्रदेश सभाका सांसद र दलका नेताहरू जिम्मेवार भएर पुनः नामाङ्कनको प्रक्रिया अघि नबढाएमा आमहडताललाई आन्दोलन थप कडा बनाउँदै अनिश्चितकालीन रूपमा लम्ब्याउने निर्णय गरिएको छ ।
बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभा सदस्यहरूलाई कालो झण्डा प्रदर्शन लगायतका पूर्व घोषित विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको छ । भने सरकारी तथा गैरसरकारी कार्यालयहरूमा ‘कोशी’ नाम लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प राखिएको चलाइएको भए सम्बन्धित कार्यालय प्रमुखलाई हटाउन अनुरोध गर्ने, नहटाए पहिचानको लागि युवाको केन्द्रीय, जिल्ला, स्थानीय समिति र सङ्घर्ष समितिको स्थानीय तहले हटाउने र मेटाउने कार्य माघ १३ देखि फागुन १० गते गरिसक्ने निर्णय गरिएको छ ।
पहिचानवादी जातीय सङ्घ, सङ्गठनहरूमा रहेर पहिचान विरोधी काममा संलग्न हुनेलाई सम्बन्धित सङ्घ सङ्गठनहरूले कारबाही गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधानप्रति प्रतिबद्धता जनाउँदै वर्तमान संविधानको रक्षा, सङ्घीय गणतन्त्रलाई कार्यान्वयन गर्न वर्तमान पार्टीहरूका नेताहरूले नसक्ने परिस्थितिमा वा रक्षा गर्न नचाहेमा निकट भविष्यमै तेस्रो जनआन्दोलनको नेतृत्व गर्दै, देशैभर माहौल सिर्जना गर्न तयारी गर्ने निर्णय पनि गरेको छ ।
आन्दोलनका क्रममा इलाम जेलमा रहेका आशिष साम्बा लिम्बू रिहाइको पहल र घट्नाको अध्ययन गर्न नेपाल जनमुक्ति पार्टीका महासचिव पदम जवेगुको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरेको छ । टोलीमा जसपाका टुपेन्द्र येक्तेन र किरात राई यायोख्खा इलाम जिल्ला अध्यक्ष पुष्पा राई सदस्य रहेका छन् ।
पहिचानको आन्दोलन जनसमुदायिकरण, राष्ट्रिय, अन्तर्राष्ट्रियकरण भएको र कसैले हार्नु नपर्ने, पुनः नामकरण भए आम जनताको जित हुने बुझेर आन्दोलन अझ सशक्त बन्दै गएको बैठकमा भएको समीक्षाले निष्कर्ष निकालेको बताइएको छ ।
पत्रकार सम्मेलनमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष ग्याल्जे शेर्पा, पुनः नामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताची राई र नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा, पूर्व संस्कृति मन्त्री गोपाल किराँती, जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङगा ,लिम्बुवान पार्टीका नेताहरू लगायतको उपस्थिति थियो ।