गैरआवासीय नेपालीद्वारा रक्त संकलन घुम्ती बस हस्तान्तरण



स्वर्णिम राई, धरान

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखालाई रक्त संकलनका लागि घुम्ती बस हस्तान्तरण गरेको छ ।

बुधबार एनआरएनएका अध्यक्ष डा.बद्री केसीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखाका सभापति उमेश थापालाई बसको चाबी हस्तान्तरण गरे । सो बसको कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले रिबन काटेर शुभारम्भ गरेका छन् । उनले रक्तदान जस्तो महत्वपूर्ण कामका लागि सहयोग स्वरुप बस उपलब्ध गराएकोमा एनआरएनएलाई धन्यवाद व्यक्त गरे ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशमा प्रसस्त सम्भावना रहेकाले लगानी गर्न आग्रह गरेका छन् । उनले विदेशमा सिकेका शीप, ज्ञान र प्रविधि प्रयोग गरेर कोशी प्रदेशमा लगानी गर्न आउनेलाई प्रदेश सरकारले संरक्षण र प्रवद्र्धन गर्ने बताए । गैरआवासीय नेपाली संघका पदाधिकारीलाई नेपाली नेतालाई माग्ने नबनाउन आग्रह गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेशमा लगानी गर्ने धेरै क्षेत्रहरु छन्, बरु आउनुस् तपाईंहरु लगानी गर्नुस् हामी तपाईंको पूँजी, श्रम र प्रविधिको संरक्षण र प्रवद्र्धन गर्ने छौं ।’

नेपाल रेडक्रस सोसाइटी सुनसरीको धरान स्थित कार्यालयमा भएको बस हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसीले आफुहरु विदेशमा रहेपनि मनमा सँधै नेपाल रहिरहने र नेपालका लागि सक्दो सहयोग तथा लगानी गर्ने बताए । गैरआवासिय नेपालीहरूको ७० लाख सहयोगमा रेडक्रस सोसाइटीलाई उपलब्ध गराएको बसले कोशी प्रदेशभर सेवा दिने बताए । बसको चाबी हस्तान्तरण गर्दै उनले यो घुम्ती बस अब रक्तदाताको घर आँगनमै पुगेर रगत संकलन गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुनसरीका अध्यक्ष उमेश थापाले रक्त संकलन बस भएपछि रगत संकलन गर्न सहज भएको भन्दै यो बसले कोशी प्रदेशभर रक्त संकलनका लागि सेवा पु¥याउने बताउदै । उनले गैरआवासीय नेपालीहरुलाई धन्यावाद व्यक्त गरे ।