उपकुलपतिको कार्यालयमा कार्की माथी आक्रमण




धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मंगलवार कार्यकक्षमै आक्रमण भएको छ ।

उपकुलपतिको कार्यालयमा भेट गर्न पुगेका ३ जना व्यक्तिहरुले डा.कार्कीलाई कार्यकक्षमै डिजेल र मोविलले छर्केर आक्रमण गरेका हुन् ।

आक्रमण गर्ने तीन जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ । उनीहरु बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको खुलेको छ । प्रहरीले पक्राउ गरेर लैजादै गर्दा उनीहरुले क्रान्तिकारी कम्युनिस्ट पार्टी जिन्दावाद, दलाल भिसी मुर्दावादको नारा लगाएका थिए ।

पक्राउ पर्नेहरुमा भीमबहादुर सार्की, खेमबहादुर थापा र शेरबहादुर कटवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिए । उनीहरूबारे थप अनुसन्धान भइरहेको छ । भिसीले भेट गर्न बोलाएर गएकाहरुले नै खल्तीबाट मोविल झिकेर प्रहार गरेको थियो सोही समयमा प्रहरीले रोकेको कारण ठुलो क्षेती नभएको प्रवक्ता भण्डारीले जानकारी दिए ।