धरानमा ‘गोर्खा वारियर’ को रेड कार्पेट शो हुने




धरान ः लाहुरेको सहरका रुपमा परिचित धरानमा गोर्खाली सैनिकले लडेको ‘मलाया युद्ध’को कथामा आधारित नेपाली चलचित्र ‘गोर्खा वारियर’को भव्य रेड कार्पेट शो गरिने भएको छ ।


आगामी फागनु ५ गते धरानको ‘फ्रेन्ड्स सिनेमा’ चलचित्र भवनमा भव्य प्रदर्शन गर्न लागिएको निर्माण पक्षले उक पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । सन् १९४९ मा मलाया अर्थात हालको मलेसिया जङ्गलमा कम्युनिस्ट पार्टीका गुरिल्लाहरूको संगठन ‘मलायन नेसनल लिबरेसन आर्मी’ सँग बेलायती सैनिकको युद्ध भएको थियो । ‘गुरिल्ला युद्ध’ समेत भनिने त्यस युद्धमा बेलायतका तर्फबाट गोर्खाली सैनिकले लडाईं गरेका थिए ।

मलाया युद्धमा गोर्खालीले देखाएको वीरताको कथामा बनेको ‘गोर्खा वारियर’ तिनै वीर गोर्खालीका सन्तानहरुको बसोवास रहेको धरानमा भव्य प्रदर्शन गर्न लागिएको धरानमा आयोजीत पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले जानकारी दिए ।
बेलायतस्थित लिसेस्टर स्क्वायर थिएटरमा रहेको आइम्याक्स सिनेवल्र्डमा प्रिमियर भएको ‘गोर्खा वारियर’ हेर्न उच्चस्तरीय गोर्खा सैनिक अधिकारीहरु उपस्थिति भएका थिए । सो अवसरमा बेलायतका प्रधानमन्त्री ऋषी सुनकले समेत शुभकामना सन्देश पठाएर सफलताको कामना व्यक्त गरेका थिए ।

ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा समेत पहिलोचरणमा प्रवेश पाएको चलचित्रमा युद्ध शैली वास्तविक लाग्ने गरी प्रस्तुत गरिएको निर्माण पक्षको भनाई छ । नेपालमा चलचित्र हलमा फागनु ११ बाट सार्वजनिक प्रदर्शन गरिने गोर्खा वारियरलाई नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा डबिङ गरेर विश्वव्यापी प्रदर्शन गर्ने तयारी रहेको निर्देशक मिलन चाम्सले बताएका छन ।

चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रका निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन भने कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई रहेका छन ।