प्रजातन्त्र बिना देशको उन्नती हुँदैन ः मुख्यमन्त्री कार्की




धरान, २७ माघ ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रजातन्त्र बिना देश वा प्रदेशको उन्नती हुन नसक्ने बताएका छन् ।
आज प्रजातान्त्रिक विचार समाज कोशी प्रदेश समितिको दोस्रो अधिवेसनका अवसरमा धरानमा भएको ‘संघीय लोकतान्त्रिक गणतन्त्रका चुनौती ः नेपाली काङ्ग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले त्यस्तो बताएका हुन् । उनले भने ‘प्रजातन्त्रमा, लोकतन्त्र वा गणतन्त्रमा विचारको मन्थन हुन्छ । प्रजातन्त्र बिना विचार होईन आदेशको पालना मात्र हुन्छ ।’
उनले विचार मन्थन बिना विकासका कामहरु पनि अधुरा हुने भएकाले कोशी प्रदेश सरकारले ‘थिङ्क ट्याङ्क’को कार्यालय नै स्थापना गर्ने तयारी गरेको बताए । उनले भने, ‘स्वास्थ्य, शिक्षा, कृषि, प्रविधि जस्ता क्षेत्रमा कसरी काम गर्ने भनेर हामी थिङ्क ट्याङ्क बनाउँदै छौं । यसले प्रदेशको विकासमा उल्लेखनीय भुमिका खेल्ने छ ।’ उनले आफुलाई लोकतान्त्रिक पार्टी मान्ने नेपाली काङ्ग्रेसले विचार मन्थनमा जोड दिनु पर्ने बताए ।


गोष्ठीमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि तथा समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले संघीय लोकतान्त्रिक गणतन्त्रमा विभिन्न चुनौति देखिएकाले यस्तो अवस्थामा नेपाली काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । उनले भने, ‘लोकतन्त्रमा देखिएका कमजोरी, गणतन्त्रमा देखिएको कमजोरी सुधार गर्न काङ्ग्रेस अघि सर्नु आवश्यक छ ।’
उनले प्रदेश सरकारहरुको विषयमा प्रश्न उठ्ने गरेको भन्दै प्रदेशहरुले कृषि उत्पादन र बजारीकरणमा जोड दिनु पर्ने बताए ।
समाजका प्रदेश अध्यक्ष जीवनकुमार राईको सभापतित्वमा सम्पन्न विचार गोष्ठीमा समाजका पूर्व अध्यक्ष केदारनर सिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङ, नेपाली काङ्ग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।