स्वर्णिम राई,
धरान, नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौं बाहिर पहिलोपटक धरानमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०८० मनाएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा धरान–८ स्थित लाङघाली समुदायिक वनको सभाहलमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना र धरान उपमहानगरपालिकाको सहकार्यमा विविध कार्यक्रम सहित अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले भाषाका कारण नै मानव सभ्यता विकास भएकाले सबै मातृभाषाको विकास हुनु पर्ने बताए । उनले विगतमा राज्य सत्ताले मातृभाषालाई दबाउँदै आएको बताउँदै अहिले सबैतिर मातृभाषा संरक्षणका लागि आवाज उठिरहेको बताए ।

कुलपति राईले प्रतिष्ठानले काठमाडौंमा मनाउँदै आएको मातृभाषा दिवस यसपटक पहिलो चोटी काठमाडौंबाहिर धरानमा मनाइएको र आगामी दिनमा अन्य प्रदेशमा मनाउने योजना रहेको पनि बताए । उनले अहिले स्थानीय तहहरु विजुली, बाटो जस्ता भौतिक विकासमा केन्द्रित भएको तर भाषा संस्कृति जस्तो महत्वपूर्ण विषयलाई प्राथमिकतामा नराखिएको बताउँदै भने, ‘भाषा भएकै कारण मानव प्रजाती अन्य प्रजाती भन्दा अगाडि बढेको हो, भाषाको ठूलो शक्ति छ । त्यसैले मातृभाषाको विकासका लागि तीनै तहका सरकारले ध्यान दिनु आवश्यक छ ।
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले भाषा, संस्कृति अनुसार मान्छेको मनोविज्ञान बन्ने भएकाले मातृभाषा बचाउनु आजको आवश्यकता रहेको बताए । उनले हरेक मातृभाषा राष्ट्रिय भाषा भएकाले सबै भाषाले समान रुपमा संरक्षणको अधिकार पाउनु पर्ने बताए । उनले भने, ‘अहिले हाम्रा विद्यालयहरुमा अंग्रेजी भाषाको मोह बढेको छ । यसले हामीलाई परनिर्भर बनाईरहेको छ । हामी आफ्नै भाषा संस्कृतिको संरक्षण गर्न जुट्नु आवश्यक छ।
कार्यक्रमको उद्घाटन धरानकी ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कटुवालले गरेका थिए।कार्यक्रममा घरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम वेघा, डा टंक नेउपाने सुनसरी क्षेत्र १.का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ लगायत विभिन्न जाती तथा भाषिक समुदायका लेखक, अभियन्ताहरुको सहभागीता थियो । सो अवसरमा भाषा संस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै योगेन्द्र प्रधानाङ्ग र बेचन उरावलाई सम्मान गरिएको छ । रासस