धरान, विशेष अदालतको फैसलापछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी विहिवारबाट कार्यालयमा हाजिर भएका छन् ।
नपाएको प्राध्यापक पद पाएको भनि लेखिएको भन्ने विषयको मुद्धामा सुनुवाई गर्दैे बुधबार विशेष अदालत, बबरमहल, काठमाण्डौंले सफाई दिएपछि उपकुलपति डा.गिरी विहिबाट प्रतिष्ठानको कार्यालयमा हाजिर भएका हुन् ।
विहिबार कार्यालय पुगेका उपकुलपति डा.गिरीलाई प्रतिष्ठानका पदाधिकारी, डिनहरु, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक, कर्मचारीहरु लगायत विद्यार्थीहरुले फुलमाला, खादा तथा पुष्पगुच्छाले स्वागत गरेका थिए । सो अवसरमा बोल्दै उपकुलपति डा.गिरीले आफुले न्याय पाएको बताएका छन् । उनले अब प्रतिष्ठानका कर्मचारी तथा शिक्षकको बढुवा प्रक्रिया तुरुन्तै सुरु गर्ने बताए ।
अदालतले उपकुलपति डा.गिरीलाई सफाई दिएपछि प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीले विहिबार नै विज्ञप्ती जारी गरेर आफु विगत ८ महिनादेखि कामु उपकुलपतिका रुपमा कार्यरत रहँदा सहयोग गर्ने र सद्भाव राख्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले अदालतबाट सफाई पाएर उपकुलपति डा.गिरी पुनः स्थापित भएकोमा बधाई ज्ञापन गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका उपकुलपति डा.गिरीविरुद्ध नपाएको ओहोदा पाएँ भनि भ्रष्टाचार गरेको अभियोगमा २०७९ सालको माघ ९ गते विशेष अदालतमा मुद्धा दायर गरेको थियो । त्यसपछि उहाँ निलम्बनमा पर्नु भएको थियो । बुधबार विशेष अदालतका न्यायाधीसद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उहाँलाई सफाई दिएको थियो । विशेष अदालतको च.नं.४८३४, मिति २०८०।११।१७ गतेको पत्र बमोजिम उपकुलपति डा.गिरी कार्यालयमा पुनबहाली भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.अरुण कुमार सिंहले बताए ।