आलेख ,
स्वर्णिम राई (रासस)
धरान, २१ फागुन , एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’
संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सिमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ । मुलुकमै सबै भन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होईन,अन्तराष्ट्रिय बजार अमेरिका, बेलायत,चिन, भारत, सिंङगापुर, लगायत धेरै वटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौं रुपैयाँ नेपाल भित्¥याई रहेका छन् ।
धरानमा व्यवसायीक रुपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरै जना छन् । त्यसै मध्येका एक हुनुहुन्छ, घमान सिंह विश्वकर्मा । वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदेशमै केही गर्ने सोंचले फर्किएको विश्वकर्माले आफ्नै पुख्यौली पेशालाई व्यवसायीक रुप दिने योजना बनाए । त्यसपछि करिब एक दशकअघि धरान—१५ मा सुस्मिता खुकुरी उद्योग खालेका थिए । सुरुमा तीन लाख रुपैयाँ लगानी गरेर आफ्नै घरमा लघु उद्योग खोलेका विश्वकर्मा आफै खुकुरी बनाउछन् । माग धेरै भएका बेला अन्य कालीगढलाई पनि लगाएर खुकुरी बनाउछन् । उनको भनाईमा धरान नेपालमै सबैभन्दा धेरै खुकुरी उत्पादन हुने ठाउँ हो । ‘यहाँ उत्पादन भएका खुकुरीहरु भारत, चीन, क्यानाडा, सिंगापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन् ।’
धरानकै गोविन्द दर्नाल पनि विगत १२ वर्षदेखि धरान खुकुरी उद्योग सञ्चालन गर्दै आएका छन् । दर्नालका बावु छोराले सञ्चालन गरेको खुकुरी उद्योगमा एक जना कालीगढ पनि छन् । उनीहरुले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेका छन् ।
घरेलु उद्योगका रुपमा मात्र होईन, ठूलो व्यवसायका रुपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरु पनि धेरैजना छन् धरानमा । दुई दशकदेखि न्यू गोर्खाली खुकुरी इण्डष्ट्रीज सञ्चालन गदै आएका दीपक दर्नाल त्यसको एक उदाहरण छन् । उनले अहिले ३० जना कालीगढ राखेर उद्योग सञ्चालन गर्दै आएका छन् । कोरोना महामारी भन्दा अगाडि त उनको उद्योगमा ६० जना कालीगढ थिए । उद्योग सञ्चालक दर्नालका अनुसार पहिला विदेशमा निर्यात हुने खुकुरी मध्ये रुसमा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डले प्रयोग गर्नका लागि खुकुरीको माग हुने गरेको थियो । अहिले भने अन्तराष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको उनी बताउछन् । खुकुरी उद्योगबाट हाल मासिक ९० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ ।, ‘पहिला धेरै राम्रो थियो । अहिले बजार खस्किएको छ । विस्तारै राम्रो होला भन्ने आशामा छौं ।’
उद्योग सञ्चालकहरुका अनुसार खुकुरीको मूल्य गुणस्तर अनुसार फरक हुन्छ । स्थानीय बजारमा सामान्य घरेलु प्रयोजनमा प्रयोग हुने खुकुरी तीन सयदेखि तीन हजारसम्ममा पाइन्छ । पछिल्लो समय नेपालमा भन्दा विदेशमा बढी खुकुरी निर्यात हुन थालेपछि बनावट र गुणस्तरमा परिवर्तन गरीएपछि डिजाइन गरिएको खुकुरीको मुल्य अहिले स्थानीय बजारमा ५देखि ७ हजारसम्म पर्ने गरेको उद्योग सञ्चालक दर्नालको भनाई छ ।
उद्योग सञ्चालकहरुले उपलब्ध गराएको विवरण अनुसार धरानमा साना ठूला गरी ४० देखि ५० वटासम्म खुकुरी उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट दैनिक रुपमा तीन सय वटा खुकुरी उत्पादन हुन्छ । सबै उद्योगबाट गरी धरानमा दैनिक सरदर ७ देखि १० लाख सम्म आम्दानी हुने गरेको खुकुरी व्यवसायीहरुको भनाई छ । उनीहरुका अनुसार हाल धरानमा खुकुरी बनाउने नेपाली कालीगढ ५० देखि ६० जनाको हाराहारीमा छन् । खुकुरीसँग खुकुरीको दाप बनाउनेहरुले पनि रोजगारी पाएका छन् । धरानमा खुकुरीको दाप बनाउने करिब २५ वटा परिवार छन् । उनीहरुको यसैबाट जीवनयापन हुने गरेको उद्योग सञ्चालक विश्वकर्मा बताउनु हुन्छ । धरानमा उत्पादन हुने खुकुरीको मूल्य कम्तिमा २ सय रुपैयाँदेखि बढिमा १५ हजार रुपैयाँसम्म पर्छ ।
खुकुरी उद्योग संघ धरानका अध्यक्ष समेत रहेका न्यू गोर्खाली खुकुरी इण्डष्ट्रीजका सञ्चालक दीपक दर्नाल खुकुरी उद्योगबाट धेरै फाईदा लिन सरकारको सहयोग आवश्यक रहेको बताउछन् । ‘अहिले अन्तराष्ट्रिय बजारबाट खुकुरीको माग धेरै भएपनि हामीले विदेश पठाउँदा धेरै कर लाग्ने भएकाले समस्या छ ।’ उनले भने ‘नेपाल सरकारले करमा सहुलियत दिने व्यवस्था गरिदिए खुकुरी उद्योग सञ्चालन गर्नेहरुको हौसला बढ्ने थियो । उनीहरुले विदेशमा खुकुरी निर्यात गर्दा राज्यलाई नै आम्दानी बढ्ने थियो । सरकारलाई हाम्रो यहि आग्रह छ ।’
बजार खस्किएकोमा चिन्ता
कोरोना महामारी पछि समग्र बजारको अवस्था खस्किएको छ । खुकुरीको व्यवसायमा पनि त्यसको असर पर्ने नै भयो । धरानका खुकुरी व्यवसायीहरुका अनुसार विगत भन्दा खुकुरीको माग पनि घटेको छ ।
एकातिर खुकुरी बनाउने फलामको भाउ बढेको र अर्कातिर माग घटेकाले समस्या भएको सुस्मिता खुकुरी उद्योगका सञ्चालक घमान सिंह विश्वकर्मा बताउछन । उनका अनुसार पहिला ७० देखि ८० रुपैयाँ प्रति केजीमा पाईने फलाम अहिले एक सयदेखि १२० रुपैयाँ प्रति केजी पर्छ । ‘महँगी बढेपछि पहिला जत्ति खुकुरी उत्पादन गर्न सकिएको छैन । बजार पनि खस्किएको छ ।
अहिले माग र उत्पादन बराबरी अवस्थामा रहेको व्यवसायीहरुको भनाई छ । तर विगतमा हातले नै खुकुरी बनाउने सबै काम गर्नु पर्ने अवस्था थियो, अहिले भने प्रविधिको विकाससँगै मेसिनहरुको प्रयोग पनि हुने गरेको छ । यसबाट केही सहज पनि भएको व्यवसायीको भनाई छ । आधुनिक प्रविधिलाई प्रयोग गरेर अझै खुकुरीको उत्पादन बढाउन र अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्ने सम्भावना प्रसस्त रहेको व्यवसायी विश्वकर्माको भनाई छ । उनी भन्छन्, ‘सरकारबाट सहयोग पाउने हो भने खुकुरी उद्योगहरु फस्टाउन सक्छन्, यसले नेपालीको सान र पहिचान संसार सामु फैलाउने मात्र होईन, विदेशी रुपैयाँ पनि राम्रोसँग आम्दानी गर्ने सम्भावना छ ।’
संस्कृति र इतिहासमा खुकुरी
खुकुरीको सम्बन्ध नेपालका विभिन्न जातीको संस्कार संस्कृतिसँग पनि जोडिन्छ । खुकुरीलाई देवताको थानमा राखेर पुज्ने चलन विभिन्न समुदायमा पाईन्छ । दशैं र विभिन्न चाडपर्वमा पनि हतियारका रुपमा खुकुरीको पुजा गर्ने प्रचलन छ । इतिहासमा पनि खुकुरीको उत्तिकै महत्व छ ।
नेपालीलाई विश्वमा गोर्खालीका रुपमा परिचित गराउन खुकुरीले ठूलो भूमिका खेलेको इतिहास अध्ययनका क्रममा बुझ्न सकिन्छ । नेपालीलाई वीर जातीका रुपमा चिनाउने काममा खुकुरीको भूमिका छ । गोर्खाली सैनिकहरुले खुकुरीकै भरमा नेपालमा विभिन्न युद्ध लडेका थिए । त्यसबेलाको सैनिक हतियारमा खुकुरी र तरबार नै प्रमुख थिए ।
अहिले पनि प्रहरी, सैनिक लगायत सुरक्षाकर्मीहरुले कम्मरमा खुकुरी भिर्ने चलन छ । भने सुरक्षाकर्मीका पोसाकमा पनि खुकुरी चिन्ह अंकित गर्ने गरिएको छ । त्यसबाहेक सुरक्षासँग सम्बन्धित तक्मा, पुरस्कारमा पनि खुकुरीको चिन्ह प्रयोग गर्ने गरिएको छ । यसरी नेपालीको संस्कृति र इतिहासमा गहिरो प्रभाव पारेको खुकुरीले पछिल्लो समय व्यापारमा पनि राम्रो प्रभाव जमाउँदै गरेको देखिन्छ ।
खुकुरी जस्ता हतियार बनाउने काम विश्वकर्मा समुदायको पुख्यौली पेशाका रुपमा चिनिन्छ । दलित समुदायका पुख्यौली पेशाहरु संकटमा पर्दै गएको बेला खुकुरी बनाउने पेशामा भने युवापुस्ताको पनि आकर्षण देखिएको छ । धरानका उद्योगहरुमा खुकुरी बनाउने अधिकांश युवापुस्ताका छन् । खुकुरी व्यवसाय युवापुस्ताको रोजगारीको राम्रो अवसर पनि बनिरहेको छ । विश्व बजारमा माग बढिरहेको खुकुरी व्यवसायलाई वृद्धि गर्न स्थानीय तह र प्रदेश सरकारले पनि नीतिगत रुपमा काम गर्नु पर्ने खुकुरी उद्योग संघका अध्यक्ष दर्नालको भनाई छ । उहाँ भन्नुहुन्छ,‘स्थानीय तह र प्रदेश सरकारले हाम्रो पुख्र्यौली पेशा बचाउने सहयोग गरिदिए, अझै धेरै रोजगारी पनि सृजना हुन्थ्यो, राज्यलाई पनि फाईदा पुग्थ्यो ।’रासस