रैथाने बीउ र परिकार संरक्षणमा युवाको सक्रियता




बाँकेको बैजनाथ गाउँपालिका–१ गाभरमा दाङ घोराही उपमहानगरपालिका–१२ डाँडा गाउँकी २७ वर्षीया सुशीला चौधरी रैथाने बीउ लिएर आइपुगेका छन् ।तीनदिने युवा सम्मेलनमा आइपुग्नुभएकी चौधरी विगत तीन वर्षदेखि रैथाने बीउ संरक्षरण अभियानमा सक्रिय छन्।
“गाउँमा हिजोआज सम्फुको साग, सिमतारे धान, कालो मास, आलस जस्ता रैथाने बाली पाइन छाड्यो”, उनले भने “रैथाने बीउ हाम्रो खानपान मात्र होइन हाम्रो पहिचान पनि भएको हुनाले यसलाई जोगाउनमा हामी युवा नै लाग्नुपर्छ ।”
गाउँमा उनले आफूले मात्र रैथाने बीउ संरक्षण नगरी समुदायस्तरमा संरक्षणका लागि अभियान चलाएका छन् । “हामीलाई प्रत्यक्ष मात्रामा पुग्ने भिटामिन दिने यस्ता रैथाने खाद्य सामग्री हराउँदै गइरहेका छन्, यिनको संरक्षण गर्न आवश्यक भएको हुनाले युवाले रैथाने बीउको संरक्षणमा लाग्न जरुरी छ ।”
सुशीला जस्तै पुथा उत्तरगङ्गा गाउँपालिका १० तकसेरा रुकुम पुर्वका मैत्या धर्ती मगर पनि रैथाने बीउ संरक्षण अभियानमा जोडिएका । गाउँमा आफ्नै घरबास सञ्चालन गर्दै आएका मैत्या घरबासको भान्सामा रैथाने परिकार नै पकाउछन् । यही मङ्सिरदखि घरबास चलाइरहनुभएका मैत्याले युवालाई रोजगारी दिएका छन् ।
रैथाने बीउ बिजन संरक्षणका लागि मैत्याले आफ्नै गाउँमा ‘अग्र्यानिक कृषि तथा पशु पन्छी पालन समूह’ स्थापना गरेका छन् । उनी लगायत समूहमा आबद्ध भएका युवाले आफ्नै गाउँघरमा पाइने तर लोप हुँदै गइरहेका रैथाने बिउलाई संरक्षण मात्र नगरी किसानलाई र स्थानीय सरकारलाई संरक्षणका लागि जनचेतना समेत फैलाउने काम गर्दै आइरहेका छन् ।
“हामी युवाहरुले हाम्रो गाउँमा मात्र नभई रुकुम पूर्वका केही भेगमा पनि लोप हुँदै गइरहेको बीउलाई हाम्रो समूहमा संरक्षण गर्ने मात्र नभई स्थानीय र स्थानीय सरकारलाई समेत संरक्षणका लागि आग्रह गर्ने काम गर्दै आइरहेका छौँ,” उनले भने “हामीले हाम्रो रुकुम पूर्वमा सञ्चालन भएका प्रायः घरबास (होमस्टे)मा आफ्नै गाउँघरमा उब्जिएको रैथाने परिकार पकाउन पनि आग्रह गर्ने गर्दछौँ ।”
सुशीला र मैत्या जस्तै रुपन्देहीकी २० वर्षीया सुनिता हरिजन पनि विगत दुई वर्षदेखि रैथाने बीउ संरक्षणमा सक्रिय छन् । भर्खरै स्नातक अध्ययनरत सुनिताले परम्परागत बाली मासिन थालेपछि रैथाने बीउ संरक्षणमा लागेको बताए ।
“पहिला चामलको पीठोबाट बन्ने गुलगुला, फरा, गुजियालगायत खानेकुराका परिकार हिजोआज सुजी र मैदाबाट बन्न थालेपछि पुरानै परिकारलाई संरक्षण गर्नुपर्छ भनेर यो अभियानमा लागेको हुँ”, उनले भने “रैथाने खानेकुरामा पाइने पौष्टिकतत्व र स्वाद बेग्लै हुन्छ, त्यसलै अहिलेको पुस्ता संरक्षणमा लाग्न जरुरी छ ।”
सम्मेलनमा लुम्बिनी प्रदेशबाट सहभागी भएका ३८ समूहका युवाले ७८ प्रजातिका रैथाने बीउ सङ्कलन गरेका थिए । उक्त सङ्कलित रैथाने बीउ राष्ट्रिय जिन बैङ्कका प्रमुख डा बालकृष्ण जोशीलाई हस्तान्तरण गरिएको थियो ।
सो सम्मेलनमा युवाका विषयमा विभिन्न कार्यपत्रका साथै युवा सांस्कृतिक साँझ, लुम्बिनीका युवाद्धारा तयार पारिएको लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरिएको नेपाल युवा परिषद्का संस्थापक केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए ।
उनका अनुसार लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाले आफ्नो कला संस्कृति झल्कने वेशभूषा, स्थानीयस्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बीउ उक्त प्रदेश युवा सम्मेलनमा प्रदर्शन गरिएको युवा परिषद् प्रदेश संयोजक सोम गुरुङले बताए ।