धरान एक्स्पोमा १२ करोडको कारोबार



रासस,
धरान, २३ फागुन , स्थानीय व्यवसायीका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको व्यापारिक मेला धरान एक्स्पोमा १२ करोड रुपैयाँको आर्थिक कारोबार भएको छ ।
फागुन ११ गतेबाट सुरु भएको धरान एक्स्पोमा आज समापनको दिनसम्म १२ करोड कारोबार भएको आयोजक सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार एक्स्पोमा करिब १ लाख ८० हजार जनाले अवलोकन गरेका छन् । अघिल्लो वर्ष संघले आयोजना गरेको एक्स्पोमा करिब १० करोडको कारोबार भएको थियो । यसपटक अघिल्लो वर्षको तुलनामा २ करोड कारोबार वृद्धि भएको हो ।
आज उत्सवको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै कोशी प्रदेशसभाका सदस्य रमेशकुमार बस्नेत एक्स्पोले स्थानीय व्यापारी व्यवसायी र उपभोक्ताबीच पुलको काम गरेको बताए । सफलतापूर्वक एक्स्पो समापन गरेकोमा आयोजकलाई बधाई दिँदै प्रदेशसभा सदस्य बस्नेतले भने, ‘नेपालको संविधानले नै तीन खम्बे आर्थिक नीतिको व्यवस्था गरेर निजी क्षेत्रलाई महत्व दिएको छ । उद्योग वाणिज्य संघ जस्तो नीजि क्षेत्रले सुस्ताएको बजार उकास्न यस्ता कार्यक्रम गर्नु आवश्यक छ ।’
कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले धरान एक्स्पोले बजारको पूँजी चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । एक्स्पोले आर्थिक गतिविधि बढाउन मात्र नभई धरानको कला, संस्कृति प्रवद्र्धन गर्न पनि सहयोग पु¥याएको बताए ।
आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले हरेक वर्ष धरान एक्स्पोलाई निरन्तरता दिन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
एक्स्पोमा स्थानीय रुपमा उत्पादित स्ट्रबेरी, किबी, बेसार र साबुनका साथै विभिन्न खाद्यान्न, लुगा कपडा, खानेकुरा, नर्सरी देखि मोटरसाईकल, गाडी बिक्री तथा प्रदर्शनीमा राखिएको थियो । यसपटकको एक्स्पोमा सोचे भन्दा राम्रो कारोबार भएपछि व्यापारीहरु पनि खुसी छन् । आयोजक सुनसरी उद्योग वाणिज्य संघका महासचिव प्रधान यसपटकको उत्सवमा ९८ प्रतिशत उपभोक्ता र व्यापारी सन्तुष्ट रहेको पाइएको बताउछन् । उनले भने ‘पहिलाभन्दा धेरै व्यवस्थित रुपमा एक्स्पो सञ्चालन गरिएकाले सबै खुसी छन्,अर्को वर्ष पनि आउने बताएका छन् । उनीहरुको खुसीले हामीपनि उत्साहित छौं ।’