धरान, सुनसरीको इटहरीमा जारी १४ औं इटहरी गोल्डकपको पहिलो सेमीफाईनल खेलमा साबिक बिजेता सगरमाथा क्लब मोरङलाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय जागृती क्लबद्वारा आयोजीत गोल्डकपको बुधबार राती सम्पन्न प्रतिष्पर्धात्मक खेलमा निर्धातिर समयभित्र दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टि सुट मार्फत हार जीतको निर्णय लिइएको थियो । पेनाल्टि सुटका आधारमा आर्मीले २–१ गोल अन्तरले जीत निकालेको हो । पेनाल्टि सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरीले मात्र गोल गर्न सफल भए । बुधबारको खेलको म्यान अफ दि म्याच आर्मीका गोलकिपर विकेश कुथु घोषित हुदै नगद १० हजार पुरस्कार पाए ।
बिहिबारको अन्तिम सेमिफाइनल खेल गत बर्षको उपबिजेता चर्च ब्वाईज युनाइटेड काठमाण्डौ र आयोजक राष्ट्रिय जागृती क्लबबिच हुने भएको छ । शनिबार हुने फाइनल खेलको बिजेताले नगद १० लाख रुपैया र उपबिजेताले ५ लाख रुपैयामा पाउने आयोजकले जनाएको छ ।