पुर्व प्राथमिक शिक्षिकालाई मन्टेश्वरी तालिम




धरान, धरानको नमूना विद्यालय पब्लिक हाईस्कुलको आयोजनामा पूर्व प्राथमिक तहका शिक्षिकाहरुका लागि पाँच दिने मन्टेश्वरी तालिम सुरु भएको छ ।
सोमबारबाट सुरु भएको तालिममा धरानका सामुदायिक तथा संस्थागत विद्यालयका जम्मा ३४ शिक्षिकाहरु सहभागी छन् । अन्य कक्षाका शिक्षक शिक्षिकाका लागि विभिन्न तालिम सञ्चालन भएपनि पूर्व प्राथमिक तथा बाल शिक्षाका शिक्षक शिक्षिकाका लागि कतैबाट तालिम दिने व्यवस्था नभएकाले यस्तो तालिमको आयोजना गरिएको पब्लिक हाईस्कुलका प्राचार्य डा.इन्द्रमोहन झाले बताए । उनले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई सँगै अगाडि बढाउनु पर्ने बताए ।


तालिममा सहभागी शिक्षिकाहरुलाई प्रशिक्षक दोर्णप्रसाद न्यौपानेले प्रशिक्षण दिईरहेको छ । उनले पूर्व प्राथमिक कक्षालाई प्राथमिकता दिन सके मात्र विद्यार्थीको पढाई सुधार हुने बताए । तालिम उद्घाटन कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले धरान उपमहानगपालिकाले आयोजना गर्नु पर्ने तालिम पब्लिक हाईस्कुलले आयोजना गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले उपमहानगरपालिकाले पनि यस्तो तालिम चाँडै सञ्चालन गर्ने बताए ।
कार्यक्रममा पब्लिक हाईस्कुल व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले साना बालबालिकाले आज जे सिक्यो, त्यसैले भविष्य निर्धारण हुने भएकाले पूर्व प्राथमिक कक्षालाई विद्यालयहरुले प्राथमिकता दिएर अघि बढाउनु पर्ने बताए । तालिम आउँदो शुक्रबार समापन हुने बताइएको छ ।