धरान, सुनसरीको वराहक्षेत्रस्थित चतराधाममा आगामी चैत्र २७ देखि २०८१ वैशाख २८ गतेसम्म आयोजना हुने बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने निश्चित भएको छ ।
शुक्रबार कुम्भ मूल आयोजक समितिअन्तर्गत प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा महाकुम्भ उत्सवको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । कुम्भ मेलाको उद्घाटन राष्ट्रपति पौडेलले गर्ने साथै कुम्भको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरी २ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
पत्रकार सम्मेलनमा कुम्भ मेला मूल आयोजक समितिका सहअध्यक्ष रहेका बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले कुम्भ मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
पूर्ण महाकुम्भ मेलाका अवसरमा बजार व्यवस्थापन समितिले चतराधाम परिसरमा ४ सय ८० वटा अस्थायी ‘स्टल’ निर्माण गर्ने भएको छ ।
समितिले पूजा सामग्री (माला) पसल, किराना, होटल र संस्थागत गरी स्टलको वर्गीकरण गरेको छ । व्यवसायीसँग प्रतिफुट ६ सय रुपैयाँ रकम लिने गरी स्टल व्यवस्थापन गरिएको समिति संयोजक कुमार भट्टराईले जानकारी दिए ।
महाकुम्भ मेलामा आउने भक्तजनको व्यवस्थापनका लागि ५ ठाउँ पार्किङको व्यवस्थापन गरिएको छ । यस्तै ३० लाख धार्मिक तीर्थयात्रीलाई व्यवस्थापन गर्ने गरी तयारी थलिएको बताइएको छ ।
कुम्भ मेलामा आउने भक्तजन र सवारी साधनको व्यवस्थापनका लागि तत्काल पाँच ठाउँमा सवारी पार्किङको व्यवस्थापन गरेको नगर प्रमुख कार्कीले जानकारी दिए । न्युनत्तम ३० लाख आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्रने अनुमानसहित तयारी थालिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
मूल आयोजक समिति मातहत २६ समिति यसअघि निर्माण गरिसकिएको छ । यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका बराहक्षेत्र नगरपालिका १ नम्बर वडाका वडाध्यक्ष किसन थापा मगरले आवश्यक स्थानमा चाप हेरेर व्यवस्थापन गरिने जानकारी दिए ।
खुलेआम रुपमा मदिरा र मासुजन्य पदार्थ बिक्रीवितरणमा रोक
कुम्भ मेला लाग्नुभन्दा ५ दिन पहिले र कुम्भ मेला सकिएको ५ दिनपछिसम्म कुम्भ क्षेत्रमा मदिरा र माछामासु बिक्रीवितरणमा रोक लगाउने तयारी गरिएको छ । नगर प्रमुख कार्कीले धार्मिक कार्यमा राष्ट्र नै लागेकाले सात्विक बराहक्षेत्रको सन्देश दिनु पर्ने बताए । उनले सबै व्यवसायीलाई मदिरा र माछामासु बिक्रीवितरण नगर्न आह्वान गर्ने बताए । उनले नगरपालिकाले सार्वजनिक सूचना जारी गर्नेसमेत बताए भने यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरिसकेको छ ।
‘फेस रिडर’ ले गणना गर्नेछ कुम्भमा आउने भक्तजनको सङ्ख्या
धार्मिक मेलामा आउने भक्तजनको यकिन तथ्यांक राख्न नसकिएका बेला कुम्भ मेलामा डिजिटल गणकले भक्तजनको गणना गर्ने तयारी भइरहेको छ ।
कुम्भमेलामा आउने भक्तजनको सङ्ख्या यकिन गर्न ‘फेस रिडर’ सिसी टिभी क्यामेरा राख्ने निर्णय भएको नगरप्रमुख कार्कीले जानकारी दिए ।
उनले सरकारसँग मोबाइलमा कुम्भको रिङटोन बज्ने व्यवस्थाका लागिसमेत छलफल चलेको बताए । त्यस्तै कुम्भ मेलाका अवसरमा भक्तजनलाई स्थानीय धार्मिक तीर्थका बारेमा जानकारी दिन र प्रचारप्रसार गर्न मिडिया सेन्टरसमेत स्थापना गर्ने तयारी भएको नगर प्रमुख कार्कीले बताए ।
१९५ अस्थायी शौचालय
कुम्भमेलाको सरसफाइ र व्यवस्थापनका लागि समितिले सार्वजनिक शौचालय र खानेपानीको व्यवस्थापन गरिरहेको छ ।
कुम्भ परिसरमा १९५ अस्थायी शौचालय निर्माण गर्ने आयोजक समितिको तयारी छ । यस्तै २ वटा मोबाइल भ्यान शौचालय कुम्भ क्षेत्रमा परिचालित हुने नगर प्रमुख कार्कीले बताए ।
कुम्भको सौन्दर्यीकरणका लागि एक घर एक गमला
कुम्भ क्षेत्र चतराधामको सौन्दर्यीकरणका लागि मेला समितिले स्थानीयलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ !
नगरप्रमुख कार्कीले आफ्नो घर वरपर, आँगन, सडक अनिवार्य सरसफाइ गर्न नगरवासीमा आह्वान गरेका छन् । उनले स्थानीयलाई चतराधाम सौन्दर्यीकरण गर्न आग्रह गरेका छन् ।
नगर प्रमुख कार्कीले कुम्भको सौन्दर्यीकरणका लागि ‘एक घर एक गमला’ अभियान सुरु गरेको बताए ।
उनले स्थानीयलाई आफ्नो घरलाई ‘होमस्टे’ का रुपमा विकास गर्न समेत आह्वान गरेका छन् ।
यस अघि कुम्भ मेलाको व्यवस्थापनका लागि अनुगमन समिति, आर्थिक समिति, शान्ति सुरक्षा व्यवस्थापन समिति, स्वयम् सेवक समिति, बजार व्यवस्थापन समिति, प्रचार-प्रसार समिति, प्राथमिक स्वास्थ्य उपचार समिति, उद्घोषण समिति, साहित्य सम्मेलन समिति, स्काउट परिचालन समिति, सांस्कृतिक, मनोरञ्जन तथा पर्यटन प्रवर्द्धन समिति, भजन-कीर्तन समिति, झाँकी व्यवस्थापन समिति, सन्तमहन्त आवास व्यवस्थापन समिति, यज्ञ, अनुष्ठान, गुरु पण्डित व्यवस्थापन समिति, अतिथि स्वागत सम्मान समिति, इन्धन तथा दाउरा व्यवस्थापन समिति, आवास तथा पण्डाल व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, स्नान स्थल निर्माण समिति र विद्युत व्यवस्थापन समिति, यातायात व्यवस्थापन समिति, खानेपानी व्यवस्थापन समिति गठन भइसकेको छ ।