भुलभुला मन्दिर पर्यटकीय गन्तव्य बन्यो




गण्डकी, कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर पर्यटकीय गन्तव्य बनेको छ ।
पूजाआजा गरेमा मनले चिताएको पुुग्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् । मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालयले सक्रियता देखाएको छ ।
विगतमा सामान्य कुुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रष्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएका स्थानीयवासी एवं पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा रु आठ लाख ५० हजारको लागतमा पुजारी आवाससहितको ट्रष्ट भवन निर्माण गरिसकेको छ ।
अघिल्लो आवमा मन्दिर परिसरमा रु १० लाख लागतमा शौचालय निर्माण गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित जलकुण्ड (पोखरी)लाई व्यवस्थित गर्न वडा कार्यालयले रु आठ लाख उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शङ्कर अधिकारीले बताए ।
प्राचीनकालदेखि नै भुुलभुला देवीको महिमा र गरिमा आफूहरूले सुन्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष अधिकारीले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढाएको बताए । प्राचीन किंवदन्तीअनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बूढापाका बताउँछन्
प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एक पटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन् । मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन् ।
मन्दिर परिसरको जलकुण्डमा बाह्रै महिना पानी आइरहने स्थानीय समाजसेवी ८७ वर्षीय सम्मरलाल श्रेष्ठले बताए । जलकुण्डमा तलबाट निरन्तर पानी भुलभुल गरेर आउने भएकोले नै प्राचीनकालदेखि नै भुलभुला देवीका रुपमा लिने गरिएको उनको भनाई छ ।
स्थानीयवासीका अनुसार जलकुण्ड नजिकै पहिले खनियाँको रुख थियो । रुखको नजिकै सानो ढुङ्गे मन्दिर थियो । १८÷१९ वर्षअघि उक्त रुख ओइल्याउँदै मरेको र सँगै ढुङ्गाको मन्दिर पनि दब्नुलाई धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको स्थानीयको भनाइ छ । प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिमा प्राचीनकालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म भैझगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।