थाप्राङ–तिपाङ जोड्ने पुल निर्माण सम्पन्न




धरान, चितवनमा रहेको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्गको निर्माण सम्पन्न भएको छ ।
बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावतमा धेरै नै सजिलो हुने बताएका छन् ।
चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ । अध्यक्ष गुरुङले भने“पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको वताउदै पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ ।
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताए । “तिपाङभन्दा माथि पनि साना–साना बस्ती रहेको छ। यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिडडुल गर्न सजिलो हुनेछ उनले वताए ।
विसं २०७८ मा पुल निर्माण कार्य थालिएको हो । सो ठाउँमा बिजुली र बाटोघाटोको समस्या छ । स्थानीय राजेशले चेपाङ पुल निर्माणपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताए । थाप्राङ माइत भएकी सुनिता चेपाङले पुल नहँुदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने बताउनुभयो । झण्डै रु ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो ।