भरौल खानेपानीलाई वजेट छुट्याउन खानेपानी मन्त्रीलाई ध्यानाकर्षण पत्र




धरान । कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले भरौल खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरिदिन संघिय खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग अनुरोध गरेकाछन् ।


शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका वडा नम्बर ३, ४ र ५ मा सञ्चालित आयोजना आर्थिक अभावकै कारण प्रभावित भएकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेटमा समावेश गरिदिन प्रदेशसभा सदस्य राईले संघिय मन्त्री समक्ष अनुरोध गरेको हो ।
२१ करोड २९ लाख ९८ हजार ९ सय ८२ रुपैया १४ पैसा कुल अनुमाति लागत रहेको आयोजनाले २८ हजार ७ सय ७९ जनताको खानेपानी समस्यालाई समाधान गर्नेछ । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले पत्र बुझ्दै वार्षिक वजेटमा आयोजनालाई समेटिने बताए ।
२०६५/०६६ सालदेखि निर्माण प्रारम्भ भएको आयोजना अन्तर्गत ४ हजार घरमा धारा जडान गरिएको भएपनि पानी वितरण गर्न नसकिएको भरौल खानेपानी व्यवस्थापन समितिको अध्यक्ष हरी पौडेलले बताए । करिव ६० प्रतिशत काम सम्पन्न भएपनि आर्थिक अभावले काम रोकिएको र करिव ४ करोड रकम जुटाउन सकिएको खण्डमा सबैलाई खानेपानी वितरण गर्न सहज हुने व्यवस्थापन समिति अध्यक्ष पौडेलले बताए ।
प्रदेशसभा सदस्य राई सहित नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई र नेकपा (एमाले) कोशी प्रदेश सदस्य मौसम राई समते मन्त्री निवास पुगेका थिए ।