झापा धुलाबारिमा प्रथम मेची महोत्सवको तयारी अन्तिम चरणमा
झापा । यही चैत ६ गतेदेखि २७ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ। आज संस्थाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिइएको हो । महोत्सवको सहआयोजकमा स्थानीय रोलिङ क्लब रहेको छ ।
महोत्सवका संयोजक रविनकुमार बस्नेतका अनुसार कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।महोत्सवका लागि ७५ लाख रुपैयाँ खर्च अनुमान गरिएको संस्थाका महासचिव प्रकाश खड्काले जानकारी दिए ।
पर्यटन प्रबर्द्धनको माध्यमबाट मेचीनगरको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको महासचिव खड्काले बताए। महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । त्यस्तै, प्रत्येक दिन राष्ट्रियस्तरका कलाकारको विशेष सांगीतिक प्रस्तुति रहने कमर्सकी अध्यक्ष रुक्मिणा आचार्यले जानकारी दिइन् ।
खड्काका अनुसार महोत्सवको अवसर पारेर मेचीनगरमा ठुला उद्योगहरुको सम्भावनाबारे सरोकारवालाहरुबीच बहस गरिनेछ ।
त्यस्तै, मेचीनगरमा कृषि, पर्यटनको सम्भावनाबारे पनि बृहत छलफल गरिने महोत्सवले कार्यतालिका बनाएको छ ।
महोत्सवमा कराते, तेक्वान्दो तथा विभिन्न मनोञ्जनात्मक खेलहरुको प्रदर्शन समेत गरिने संयोजक बस्नेतले बताए ।
धुलाबारीको पुरानो शाखलाई फर्काउन महोत्सवले टेवा पुर्याउने आशा गरिएको बस्नेतको भनाइ छ । त्यस्तै, लागुपदार्थ प्रयोगकर्ता युवाहरुलाई निरुत्साहित गर्दै खेलकुदमा प्रोत्साहन गर्न रोलिङ क्लबलाई सहयोग गर्ने पनि लक्ष्य राखिएको छ ।
महोत्सवअन्तर्गत साँझमा हुने कलाकारको प्रस्तुति हेर्न एक सय रुपैयाँ टिकट राखिएको सहआयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।
महोत्सवमा विद्यालय पोशाक तथा परिचयपत्रसहित आउने विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ । ज्येष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट गरिएको खड्काले बताए ।