ग्रीन एण्ड क्लीन धरान अभियान लिएर कांग्रेसले शुरु गर्यो घरदैलो




धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ ।
कांग्रेसले ४२औं वी.पी. स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेको हो । धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमा कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु वितरण गरिएको छ ।
अभियानको क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको छ ।
नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै अभियान अत्यन्तै उत्कृष्ट र जनमुखि भएको बताएका छन् । उनले यस्ता अभियानले जनताको मन जित्ने हुंदा अभियानको पूर्ण सफलताको कामना गर्दै आयोजक क्षेत्रीय समितिको उच्च प्रशसा समेत गरेका छन् ।
अभियानका संयोजक एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गत वर्ष पनि गरिएको यो अभियान जनप्रिय र प्रभावकारी भएकाले गत वर्ष पुग्न नसकिएका धरानका टोल वस्तीहरुका लागि पुनः अभियान सञ्चालन गरिएको बताए । यस अभियान मार्फत जनताको घरघरमा पुगिने हुंदा जनतासंग साक्षात्कार भई पार्टी र जनता वीचको सम्बन्ध सुदृढ हुनका साथै हरियाली प्रर्वद्धन, सरसफाई र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि समेत हुने हुंदा आम जनतामा र स्थानीय वातावरण तथा पर्यावरणमा सकरात्मक प्रभाव पर्ने सभापति तामाङले बताए ।
क्षेत्रीय सभापति तामाङका अनुसार धरानका १, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं. वडाहरुमा अभियान सञ्चालन गरिने भएको छ ।
घरमै आएर जीवनपयोगी विरुवा, औषधि, जनचेतनामूलक पर्चा वितरण र सडक सरसफाई समेत गरेको भन्दै वडावासीहरुले अभियान रचनात्मक र प्रशंसा गर्न लायक भएको बताउंदै अभियानलाई रुचाउनुका साथै नेपाली कांग्रेसलाई धन्यवाद प्रकट गरेका छन् ।
नेपाली कांग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १(१) र १(२) समितिको संयोजन र नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ग्रीन एण्ड क्लीन धरान अभियान गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताएका छन् ।
अभियानमा डेङ्गु विरामीलाई औषधि वितरण गरिनुका साथै न्यूनतम् एक घर एक विरुवा वितरण गरेर ग्रीन धरान बनाउने र सडक सरसफाई, डेङ्गुको लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरेर क्लीन धरान बनाउने कार्य भईरहेको उनले बताए । अभियान भदौ १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
अभियानमा नेपाली कांग्रेस पार्टी र भातृ एवम् शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।