धरान ः संजिवनी केन्द्रको आयोजनामा तेस्रो आमन्त्रित अन्तराष्ट्रिय संजिवनी फुटसल प्रतियोगिता धरानमा हुने भएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गरी असोज ३,४ र ५ गते प्रतियोगिताको आयोजना गर्ने भएको आयोजकले जानकारी दिएको हो ।
युवाहरुलाई लागु औषध दुव्र्यसनीबाट मुक्त गराउनका साथै दुव्र्यसनीमा फसेका तथा छुटेका युवहरुलाई सामाजिकीकरण गर्न साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउदै आएको संजिवनी केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले बताए ।
फुटसल प्रतियोगितामा ओपन रिकभरिङ तर्फ विजेताले पुरस्कर नगद रु.२ लाख, उपविजेताले नगद रु.१ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने अध्यक्ष ताम्राकारले बताए ।
यस्तै, भेट्रानतर्फ प्रथम पुरस्कर नगद रु.५० हजार, दोस्रो पुरस्कर रु.३० हजार र तेस्रो २० हजार पुरस्कर पाउने छन् भने महिला तर्फ प्रथम पुरस्कर रु.२० हजार र दोस्रोलाई रु.१० हजार पुरस्कार रहेको उनले बताए।
फटसल प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । भेट्रान टिममा ४० बर्ष पुगेका २ जना र बाकी खेलाडी ४२ बर्ष माथिका हुनुपर्ने छ । महिलाको प्रतियोगिता भने पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा धरान, पोखरा, काठमाडौ, चितवन, झापा, मोरङसंगै भुटान, सिलगुडी, सिक्किम, दार्जीलिङ, ग्यान्टोकबाट पनि टिमहरु सहभागी हुने अध्यक्ष ताम्राकारले बताए ।
प्रतियोगितामा व्यक्तिगत पुरस्करतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद रु.५ हजार, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । ओपन रिकभरिङतर्फ सेमीफाइनलदेखी म्यान अफ द म्याच पुरस्कर प्रदान गर्ने र प्रतियोगिताको कुल अनुमानित लागत रु.१५ लाख रहेको पनि आयोजकले जानकारी दिएको छ ।
धरान उपमहानगरपालिका १३ मा रहेको संजिवनी केन्द्रले युवाहरुलाई लागु औषध दुव्र्यसनीबाट मुक्त गराउन तथा परामर्शका लागि २०६५ सालमा स्थापना भएको हो ।
यस केन्द्रले अहिलेसम्म धरान, पोखरा, काठमाण्डौ, मोरङ, झापा लगायत भारतका विभिन्न स्थानका लागुऔषध दुर्व्यसनिमा फसेका दुई हजार भन्दा वढि युवाहरुलाई परामर्श तथा सेवा उपचार दिइसकेको अध्यक्ष सम्पुर्ण ताम्राकारको भनाई छ ।