कोशी प्रदेशका सवारीसाधनमा टायम कार्ड सुरु




धरान । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङको हातबाट बस चालक अशोक टुडुलाई टायमकार्ड हस्तान्तरण गर्दै शनिबारदेखि कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा टायम कार्ड सुरु गरिएको छ ।
सुन्दरहरैचाको पूर्व पश्चिम सडकको गछियामा आयेजिकत कार्यक्रममा डिआइजी खापुङले
विराटनगरबाट काकडभिट्टा जाँदै गरेको मे १ ख ३२५४ नम्बरका बस चालक टुडुलाई जिम्मेवार चालक हुनुपर्ने प्रतिवद्धता गराउँदै कार्ड हस्तान्तरण गरेका हुन् ।
सडक दुर्घटना न्यनीकरण गर्ने उदेश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा कोशी प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनमा टायम कार्ड सुरु गरिएको हो ।
कार्यक्रममा चालक टुडुलाई मजदुर नेता भीमज्वाला राई र व्यवसायी नेता सरोज श्रेष्ठले खदा पहि¥याइदिएर अभियानको सुरुवात गरिएको थियो ।
सवारीसाधनको तिब्र गतिबाट हुने सडक दुर्घटनालाई न्युनीकरण गर्ने उदेश्यले प्रदेशका १५ स्थानमा टायमकार्ड रुजु गरिने र तोकिएको समयमा मात्रै सवारीसाधनहरु हिड्नुपर्ने नियम बनाइएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि डिआइजी खापुङले सडक दुर्घटनाको जोखिम उच्च रहेकाले यसलाई न्युनीकरण गर्न सबै क्षेत्रको भूमिका हुनुपर्ने बताए ।
टायमकार्ड सुरु भएपछि सवारीसाधनले गर्ने उछिनपाछिनको अन्तइ हुने र सडक दुर्घटनामा कमी आउने विश्वास लिइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका अध्यक्ष सरोज श्रेष्ठले बताउनुभयो ।
प्रत्येक दिन सडक दुर्घटनामा परेर ८ जनाको मृत्युहुने गरेको, वार्षिक २ हजार ८ सय ८० ले ज्यान गुमाउने गरेको तथ्यले नेपाली सडक नागरिकका लागि असुरक्षित रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए । राईले भने यो कार्यक्रम ट्राफिक प्रहरीले सुरुवात गरेको भएपनि यो कार्यक्रम यातायात व्यवसायी र मजदुरहरुको कार्यक्रम रहेकाले यसलाई सफल बनाउन मजदुरहरुको तर्फबाट प्रतिवद्धता जनाए ।
टायम कार्ड सुरु भएपछि धरानको तिनकुने, काकडभिट्टा, विराटनगर बसपार्क, विर्तामोड, ताराबारी, केर्खा, बेलबारी, गछिया, इटहरी कलंकी चोक, पकली, कोशीकटान र भन्टाबारीमा ट्राफिक प्रहरी अधिकारीले टायमकार्ड चेकजाँच गर्ने गरी क्याडलक तयार गरिएको कोशी प्रदेश ट्राफिक प्ररही प्रमुख एसपी विनोद घिमिरेले बताए ।