आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुनसरीको पाँचौँ अधिवेशनमा अध्यक्ष पदमा सुनिल चौधरी निर्वाचित हुनु भएको छ !
बिहिवार नयाँ कार्यसमिति चयन प्रक्रियामा अध्यक्ष बाहेक कार्यसमिति सर्वसम्म भए पनि अध्यक्ष पदमा सुनिल चौधरी र भोला श्रेष्ठले दिएको उम्मेदवारी दुवैले फिर्ता नलिएपछि सहमतिको प्रयास विफल भएको थियो ।
निर्वाचन समितिका संयोजक फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामाका अनुसार फोनिज अगुवाहरूको परामर्श अनुसार दुवै प्रत्याशीलाई ३ वर्षको पदावधि डेढ/डेढ वर्ष आलोपालो अध्यक्ष रही चलाउने विकल्प प्रस्तुत गर्दा पनि सहमति हुन सकेन ।
उक्त विकल्प अस्वीकार गर्दै अध्यक्षका प्रत्याशी भोला श्रेष्ठको पक्षमा नेवा: पत्रकार दबुले चयन प्रक्रिया बहिस्कार गर्दै फोनिजबाट अलग भएको विज्ञप्ति जारी गरी अधिवेशन स्थलबाट बाहिरिएको थियो ।
चयन प्रक्रिया बहिस्कार गरे पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका भोला श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिएनन् ।
अध्यक्ष पदमा २ जनाको उम्मेदवारी यथावत् रहेकाले नेवा: पत्रकार दबुका भोजराज श्रेष्ठ समेत सदस्य रहेको निर्वाचन मण्डलले मतदानद्वारा नयाँ अध्यक्ष चयन गर्ने निर्णय गर्दै अँध्यारो भएकोले मतदान प्रक्रिया शुक्रवार बिहान गर्ने घोषणा गरेको थियो ।
सोही अनुसार आज शुक्रवार भएको मतदानमा थारु पत्रकार सङ्घका सुनिल चौधरी ४६ मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचन प्रक्रिया बहिस्कार गरेका भोला श्रेष्ठलाई २ मत परेको थियो । कुल ११४ मतदाता मध्ये ४९ मत खसेको थियो । १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि बिहीबार भएको उम्मेदवारी दरखास्त प्रक्रियामा कार्यसमिति र केन्द्रीय तथा प्रदेश परिषद् सदस्यहरू निर्विरोध भएका थिए ।
निर्विरोध निर्वाचित कार्यसमितिको उपाध्यक्ष हिमाल राई, सचिव प्रमीला राई, सहसचिव रश्मि प्रधान, कोषाध्यक्ष स्वर्णिम राई छन् ।
सदस्यहरूमा संस्थागत बुद्धहाङ लिम्बु, सचिन राई, महिला सदस्य स्मारिका राई, टिना चोङबाङ, अल्पसङ्ख्यक कमानसिंह याम्फु, खुला शैलेन्द्र चौधरी, धनराज राई र सरिता चौधरी छन् ।