स्वास्थ्यको लागि शारीरिक व्यायाम अनिवार्य: स्वास्थ्यमन्त्री लिम्बू



विराटनगर । ७५ औं “विश्व स्वास्थ्य दिवस” World Health Day को अवसरमा शुक्रबार बिराटनगरमा स्वास्थ्य सम्बन्धि विशेष सचेतना र्‍याली सम्पन्न भएकोछ ।

प्रदेश स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूको विशेष उपस्थितिमा Health For All भन्ने मुल नाराका साथ प्रदेश स्वास्थ्य मन्त्रालय बिराटनगरबाट -जलजला चोक -तिनपैनी हुँदै पुन:स्वास्थ्य मन्त्रालयसम्म पैदल हिडेर उक्त र्‍याली सम्पन्न भएको थियो।

र्‍यालीमा विश्व स्वास्थ्य संगठन, प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय मोरङ, विराटनगर महानगरपालिका लगायतका स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।

उक्त स्वास्थ्य सम्बन्धि सचेतना र्‍यालीको क्रममा बोल्दै प्रदेश स्वास्थ्य मन्त्री लिम्बूले स्वास्थ रहनकोलागि प्रत्येक नागरिकले अनिवार्य शारीरिक व्यायाम गर्नु पर्ने धारणा व्यक्त गरेकी थिइन् ।

त्यस्तै विश्वमा प्रत्येक वर्ष नसर्ने रोगका कारण ८० प्रतिशत भन्दा बढी मानिसको मृत्यु भइरहेको तथ्यांक देखिएको भन्दै मन्त्री लिम्बूले आगामी १० वर्षको अवधिमा नसर्ने रोगको कारण सतप्रतिशत मानिसको मृत्यु हुन सक्ने आकलन गरिएको तर्फ सचेत समेत गराईन्।

विराटनगरको देवकोटा चोक स्थित स्वास्थ्य मन्त्रालयबाट निस्केको र्‍याली देवकोटा चाेक, हुदै पुरानो डिएसपी कार्यालय लगायत नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरी पुनः स्वास्थ्यमन्त्रलायमा आएर समापन भएको थियो ।

र्‍यालीमा सहभागी लिम्बूले स्वास्थ्य रहन शारीरिक व्यायाम आवश्यक रहेको सन्देश प्रवाह गर्न सडकमै व्यायाम समेत गरेकि थिईन्।