सभापति कप २०८२ को उपाधि धरानलाई




सुनसरी ः पहिलो सभापति कप अन्तर नगरस्तरीय फुटबल प्रतियोगिता २०८२ को उपाधि धरान उपमहानगरपालिकाले जितेको छ ।
इटहरी उपमहानगरपालिका –५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा दुहबी नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै धरानले उपाधि हात पारेको हो ।
उपाधिको लागि धरानका कप्तान तपन कार्कीले २ र सरुण श्रेष्ठले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरानका तपन कार्की घोषित हुँदै नगद रु.२ हजार ५ सय प्राप्त गरेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धरानका मदन लिम्बु घोषित भएका थिए उनलाई नगद रु.११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
खेलमा धरानका प्रबिण लिम्बु उत्कृष्ट गोलकिपर, तपन कार्की बेष्ट मिडफिल्डर, अर्जुन राई उत्कृष्ट प्रशिक्षक घोषित भए । दुहबीका अभिषेक गुरुङ बेष्ट फरवार्ड र भगवानलाल माझी उत्कृष्ट डिफेन्स घोषित हुदै उहाँहरुलाई जनही नगद रु.पाँच ,पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।
खेलको विजेता धरानलाई नगद रु.१ लाख ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ भने,उपविजेता दुहबीलाई रु.५५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको इटहरी फुटबल क्लबका अध्यक्ष अनुरोध थापाले जानकारी दिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशले संयोजन र इटहरी फुटबल क्लबको आयोजनामा वैशाख २४ गते देखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ८ पालिकाको सहभागिता रहेको थियो ।