इटहरीमा पहिलो पटक घर निमार्ण महोत्सव




सुनसरी २ जेठ ः पूर्वी नेपालमा पहिलो पटक सुनसरीको इटहरीमा घर निमार्ण महोत्सव हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै इटहरी धरानरोड आपगाँछीस्थित रोयल रिसोर्टमा भोलि शनिबार बिहान ८ बजेदेखि महोत्सव सुरु हुने आयोजकले जानकारी दिएको हो ।

नयाँ घर निर्माण तथा पुराना घरहरूको मर्मतका लागि आवश्यक सीप, प्रविधि र जानकारीबारे जनचेतना जगाउने उद्देश्यसहित स्किल सेवाको आयोजनामा उक्त महोत्सव गर्न लागिएको घर निमार्ण फाउण्डेशनका संस्थापक प्रशान प्रधानले बताए ।
महोत्सवमा घर बनाउँदा अपनाउनुपर्ने प्राविधिक र सैद्धान्तिक पक्षहरूबारे जानकारी दिदै घरधनी, निर्माण व्यवसायी, इञ्जिनियर, वास्तुविद्, उद्यमी र विद्यार्थी गरी करिब २ हजार ५ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको पूर्वी नेपाल शाखा प्रमुख सुगन्ध मिश्रले बताए ।
महोत्सवमा आधुनिक तथा परम्परागत घर डिजाइन, खाली ठाउँको उपयोग, विद्युत् र हावापानीको व्यवस्थापन तथा गुणस्तरीय निर्माणसम्बन्धी विचार प्रस्तुत गरिनुका साथै विभिन्न अवसरहरू पनि प्रदान गरिने उनको भनाई छ ।
धरान, विराटनगर, इटहरी, दमक लगायत स्थानहरूमा निर्माण सम्बन्धी सीप र जानकारीको अभावका कारण देखिएका समस्या समाधान गर्न पूर्वी नेपालमै पहिलो पटक घर निर्माण महोत्सवको आयोजना गरिएको कार्यक्रम संयोजक बिजय कार्कीले बताए ।