काठमानडौं।
उपनिर्वाचनको धपेडी लगभग अन्त्यतिर आइपुग्दा प्रदेशहरूमा नयाँ सरकार गठनको अर्को धपेडी सुरू भएको छ।
मुख्यमन्त्रीहरू पदमुक्त नै भइसकेका कारण लुम्बिनी र गण्डकीमा नयाँ सरकार गठनको काम चाँडै हुने सम्भावना छ।
नेकपा एमाले नेतृत्वमा बाँकी रहेको एक मात्र १ नम्बर प्रदेश सरकारमा नयाँ सरकार बनाउने कसरत सुरू भए पनि यसले भने केही समय लिन सक्नेछ।
वर्तमान सत्ता गठबन्धनका तीन मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काठमाडौंमा शीर्ष नेताहरू भेटेर यस्तो कसरत गरिरहँदा प्रदेशको नेतृत्वमा रहेको एमाले भने अर्को दलका सांसद फकाउने अभियानमा जोडतोडले लागेको छ। यसरी उपनिर्वाचनको समापन कुरिरहेका दलहरूले प्रदेशमा नयाँ सरकार बनाउन र आफ्नो सरकार टिकाउन खेल सुरू गरेका छन्।
अहिले १ नम्बर प्रदेशमा विपक्षमा रहेको मुख्य प्रतिपक्षी दल कांग्रेस, अर्को विपक्षी दल एकीकृत समाजवादी र अहिले सत्तासीन रहेको माओवादी केन्द्रले नयाँ सरकार निर्माणका लागि कसरत सुरू गरिसकेका छन्।
केही दिनयता काठमाडौंमा बसेर शीर्ष नेताहरूसँग यहीबारेमा छलफल चलाइरहेका यी तीन वटै दलका प्रदेशका नेताहरूले मंगलबार पनि नेताहरूसँगको भेटघाट जारी राखेका छन्।
‘एक चरण सबैसँग कुराकानी भइसकेको छ’, पूर्व मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले भने, ‘हामीले आज पनि भेटघाट गरेका छौं। अब चाँडै माओवादी र जसपाले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।’
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वमा रहेको सरकारबाट माओवादी र जसपा कहिले बाहिरिने भन्ने टुंगो ‘आजभोलिमै लाग्ने’ नेता राईले बताए।
‘त्यसै विषयमा नेताहरूसँग चरण–चरणमा छलफल भइरहेको छ’, उनले भने ‘आजभोलिमै यसबारे टुंगो लाग्ला।’
पूर्व मुख्यमन्त्री राई, कांग्रेस प्रदेशका नेता उद्धव थापा र माओवादी दलका नेता इन्द्रबहादुर आङ्बोले सबै शीर्ष नेताहरूसँग भेटेर छलफल गरेको र अब निर्णायक ‘ग्रीन सिग्नल आएपछि प्रक्रिया अघि बढ्ने नेताहरू बताउँछन्।
‘हामी तीनै जनाले एकचरण सबै नेतालाई भेटेर प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छौं’, माओवादी नेता आङ्बोले भने, ‘केन्द्रको गठबन्धनको स्पिरिट अनुसार सरकार फेर्ने कुरामा दुईमत छैन। तर, कसरी अघि बढ्ने भन्ने जवाफ शीर्ष तहबाट आइसकेको छैन। हामी छलफलकै क्रममा छौं।’
अहिले केन्द्र र कोशी प्रदेशको गठबन्धन फरक छ। केन्द्रमा माओवादी नेतृत्वमा एमालेबाहेकको गठबन्धन छ भने १ नम्बर प्रदेशमा भने एमाले नेतृत्वमा कांग्रेस र एकीकृत समाजवादीबाहेकको गठबन्धन छ।
नेताहरूले केन्द्रकै मोडालिटी अनुसारको गठबन्धन प्रदेशमा पनि बन्ने बताइरहेका छन्। राप्रपालाई नयाँ गठबन्धनमा सामेल गराएर भए पनि नयाँ सरकार बनाउने कसरतमा गठबन्धनका नेताहरू छन्। यद्यपि एमालेको क्याम्प छाडेर राप्रपा जाने–नजाने टुंगो भने छैन। ( सेतोपाटी बाट )