झापामा सामूहिक कुटपिटबाट युवतिको मृत्यु, पाँच जना पक्राउ



शनिश्चरे, (झापा) । झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक युवतिको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ स्थित नयाँ खसी बजार जाने बाटोमा रहेको प्रकाश गिरीको घरमा डेरा बस्ने २२ वर्षीया गरिमा भनिने गंगा राई रहेकी छन् ।

उनलाई गएराति ११ः३० बजे अर्जुनधारा ८ बस्ने ३१ वर्षीय रमेश भुसालकी ३२ वर्षीया श्रीमती सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई सामूहिक कुटपिट गरेकी थिइन् ।

कुटपिटबाट घाइते भएकी युवतिलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपछि थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियाे । तर, उपचारको क्रममा आज बिहानको राति १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । मृतकको शव सोही अस्पतालमा नै रहेको छ ।

प्रहरीका अनुसार कुटपिटमा सोही ठाउँ बस्ने ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुन्दास संलग्न भएको बताइएको छ। प्रहरीले पाँच जना महिला र सुस्मिता भुसालका श्रीमान रमेश भुसाललाई पनि नियन्त्रणमा लिएको छ ।

आफ्ना श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर कुटपिट गरेको बताइएको छ ।