धरानः नेपाली कांग्रेसका भातृ र शुभेच्छुक संस्थाहरूले पार्टीको महाधिवेशन गर्न माग गरेका छन् ।
पार्टीमा रूपान्तरणको अभियान चलाउँदै आएका कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सभापति गुरुराज घिमिरेले पार्टीको महाधिवेशन सार्ने बहाना नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।

नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले समसामयिक विविध विषय र सन्दर्भमा धरानमा आयोजना गरेको भातृ तथा शुभेच्छुक संस्थासँगको अन्तरक्रिया कार्यक्रममा भातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरू र प्रमुख अतिथि समेत रहेका नेता गुरुराज घिमिरेले यस्तो बताएका हुन् ।
नेता घिमिरेले केन्द्रीय समितिको बैठक अनावश्यक रूपमा लम्ब्याउने, झारो टार्नका लागि मात्र महाधिवेशन तालिका बनाउने तथा विविध प्राविधिक पक्ष देखाएर महाधिवेशनलाई डेढ वर्षपछि धकेल्ने प्रयास भइरहेको भन्दै त्यसो नगर्न चेतावनीका साथ खबरदारी गरेका छन् ।
उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विधिवत् रूपमा पेस गरेको महाधिवेशनको मागलाई कुतर्क गरेर अवमूल्यन गर्ने गरिएको उल्लेख गर्दै नेताहरूको नियत सफा नभएको जिकिर पनि गरे । यदि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूको भावनालाई कुल्चिएर अघि बढ्ने प्रयास भयो भने आफूहरू आफैं महाधिवेशन आयोजना गर्न बाध्य हुने चेतावनी दिँदै उनले त्यो अवस्थामा पुग्न बाध्य नपार्न नेताहरूको ध्यानाकर्षण समेत गराए ।
त्यसैगरी, भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले पनि महाधिवेशन गर्नुपर्ने माग राखेका छन् । उनीहरूले नियमित होस् वा विशेष, जुनसुकै स्वरूपमा भए पनि हाम्रो अर्थपूर्ण सहभागिताको ग्यारेन्टी गर्दै कुनै पनि हालतमा महाधिवेशन गरिनुपर्छ भन्दै यो वा त्यो बहानामा महाधिवेशन रोक्ने काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
युवा लगायत विभिन्न भातृ एवम् शुभेच्छुक संस्थालाई पार्टी राजनीतिको मूल प्रवाहमा सामेल गराउन न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेता घिमिरे, पूर्व केन्द्रीय सदस्य मीना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, जिल्ला उपसभापति नगेशचन्द्र राई लगायतले आफ्ना विचार राख्दै भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले उठाएका चासो, गुनासो, माग र मुद्दाका विषयमा सम्बोधन गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल महिला संघ प्रदेशसभा क्षेत्र नं. १(१) की सभापति निर्मला नेपाल, नेपाल तरुण दलका केन्द्रीय सदस्य विशाल जंगध्वज कटवाल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका क्षेत्रीय सचिव उज्ज्वल हलुवाई, नेपाल तरुण दल प्रदेशसभा क्षेत्र नं. १(१) का सभापति जीवन लिम्बू (लक्ष्मी), नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति विष्णु लिम्बू, महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति प्रशान्त राई, त्यही क्याम्पसका इकाइ सभापति विनोद आले मगर, नेपाल ट्रेड युनियन कांग्रेस तथा नेपाल सांस्कृतिक संघका प्रतिनिधि सुवर्णमोहन पलिखे, नेपाल दलित संघ कोशी प्रदेश सभापति गोविन्द दर्नाल, नेपाल शिक्षक संघ नगर सभापति आशबहादुर राई, नेपाल प्रेस युनियन जिल्ला सहसचिव मातृका नेपाल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नगर सभापति कृष्णकुमार राई (भूपाल), नेपाल किसान संघ नगर सभापति पदम लिम्बू लगायतले बिचार राखेका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तहका नेता तथा कार्यकर्ता र भातृ एवम् शुभेच्छुक संस्थाका केन्द्रदेखि वडास्तरसम्मका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    