लोकतन्त्र बलियो भयो भनेमात्र श्रम आन्दोलन बलियो हुन्छ : जिफन्ट अध्यक्ष श्रेष्ठ



सुनसरी :लोकतन्त्र सुदृढ भएमा मात्र श्रम आन्दोलन सबल र प्रभावकारी रूपमा अघि बढ्न सक्ने नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले बताए।

 बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरूसँग संवाद अभियानको शुभारम्भ गर्दै उनले उक्त धारणा राखेका हुन।

जेनजी घटनापछि श्रम बजार र श्रमिकको जीवनमा परेको प्रभावबारे मंसिर महिनाभर कोशी प्रदेशका विभिन्न प्रतिष्ठानहरूमा पुगेर श्रमिकहरूसँग प्रत्यक्ष संवाद गर्ने अभियान मंगलबार विराटनगरबाट आरम्भ गरिएको हो। अभियानको उद्घाटन जिफन्ट अध्यक्षश्रेष्ठले गरेका थिए।

अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा गरिएका हिंसा र विध्वंशले देशमा राजनीतिक संकट उत्पन्न भएको बताए। वर्तमान सरकार असंवैधानिक रहेको दाबी गर्दै विघटित संसद पुनःस्थापना गरी लोकतान्त्रिक व्यवस्थाको रक्षा र संविधानको पूर्ण कार्यान्वयन गर्नु जिफन्टको स्पष्ट धारणा रहेको उनले उल्लेख गरे।

जेनजी आन्दोलनपछि बनेको असंवैधानिक सरकारले गरेका निरन्तर निर्णयहरूले श्रमिक वर्ग क्रमशः विस्थापित भइरहेकाे उनको भनाई छ। श्रम बजारमा परेको क्षति तथा रोजगारीमा देखिएको असरबारे संवाद अभियानमार्फत विस्तृतरूपमा छलफल गरिने उनले बताए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष श्रेष्ठले श्रमिकहरूलाई समस्या र त्रासबाट उन्मुक्त गर्न जिफन्टका सम्पूर्ण संरचना र नेतृत्व सक्रिय हुनुपर्नेमा जोड दिए। जेनजी घटनाका क्रममा उद्योग, कलकारखाना, निजी संरचना, होटल तथा रेस्टुरेन्टहरू ध्वस्त हुँदा ठूलो संख्यामा श्रमिकहरू रोजगारीविहीन बनेको र उनीहरू अझै पनि त्रासमा रहेको भन्दै तिनको सुरक्षाका लागि अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारे।

कोशी प्रदेशमा सञ्चालन हुने अभियान जिफन्ट उपाध्यक्ष विदुर कार्कीको संयोजनमा सञ्चालन हुनेछ। टोलीमा जिफन्ट सचिव बेलीमाया घले, राष्ट्रिय कमिटी सदस्यहरू भीमज्वाला राई, सन्तकुमार राई, किशोर धमला, माया भण्डारी तथा जिफन्ट अन्तर्गतका विभिन्न घटक युनियनका केन्द्रीय नेतृत्वहरू सहभागी रहने संयोजक कार्कीले जानकारी दिए।