सौन्दर्यकर्मीहरूको चिन्ता : व्यवसाय संकटमा पर्‍यो



सुनसरी : सौन्दर्यकर्मीहरूको व्यवसाय थप संकटमा परेको सौन्दर्यकर्मीहरूले गुनासो गरेका छन्। आज शुक्रबार इटहरीमा जिफन्ट कोशीले आयोजना गरेको श्रमिकसँगको संवाद कार्यक्रममा सौन्दर्यकर्मीहरूले आफ्नो पेशा नै संकटमा परेको बताएका हुन्।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरीले सुनसरीका विभिन्न स्थानका सौन्दर्यकर्मीहरूलाई उक्त कार्यक्रममा सहभागी गराएको थियो।

बदलिँदो राजनीतिक परिवेशमा श्रमिकसँग संवाद गर्दै स्मरणा थापाले उपभोक्तासँग लिइने शुल्कमा एकरूपता नहुँदा सौन्दर्यकर्मीहरूबीच खिचातानी हुने गरेको बताइन्। सके देशभरि, नसके जिल्ला वा नगरमै भए पनि शुल्कमा समानता कायम गर्न जिफन्टको सहयोग आवश्यक रहेको उनले उल्लेख गरिन्।

सौन्दर्यकर्मी विनिता राईले अस्वस्थ प्रतिस्पर्धा र व्यवसायिक मापदण्डको अभावले व्यवसायिक जोखिम बढेको गुनासो राखिन्।

जिफन्टका उपाध्यक्ष तथा श्रमिकसँग संवाद अभियानका संयोजक विदुर कार्की, अभियानका सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नाबुनका महासचिव ममता प्रधान, नाबुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, जिफन्ट युवा कमिटी कोशीका अध्यक्ष भली सुब्बा, जिफन्ट महिला कमिटी कोशीकी सचिव सायदा तबसुम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानिया लगायतको टोलीसँगको संवादमा निशा पौडेलले जेनजी आन्दोलनपछि व्यवसायमा असर परेको बताइन्।

उनले भनिन्, “धेरै पार्लर व्यवसायी संकटमा परेका छन्, हाम्रो भविष्यका बारेमा जिफन्टले सोचिदिनुपर्छ।”

रेनु मण्डलले शहरभन्दा ग्रामीण भेगका व्यवसायीहरूमा व्यवसायिक चेतना अभाव भएको, सीप तिखार्न नसकिएको र जिफन्टले सीप विकास तालिमको व्यवस्था गरिदिनुपर्ने उनको भनाई थियो।

सहभागी अधिकांश सौन्दर्यकर्मीहरूले जेनजी आन्दोलनपछि उपभोक्ताहरू घटेको, मूल्यसूची नहुँदा व्यवसायीहरू घाटामा परेको लगायतका समस्या राखे।

इटहरी, इनरुवा, धरान, दुहबी, प्रकाशपुर, गोठगाउँलगायत स्थानबाट आएका सहभागीहरूको जिज्ञासालाई संयोजक विदुर कार्की, भीमज्वाला राई, ममता प्रधान, कला डाँगी र युवा नेता भली सुब्बाले सहजीकरण गरेका थिए।

संवादले सौन्दर्यकर्मीहरूको समस्याहरूको सूची तयार गर्ने, दबाब सिर्जनाका लागि स्थानीय तह, प्रदेश र संघ सरकारसँग माग पेश गर्ने, श्रमिकहरूको संगठनात्मक र व्यवसायिक दक्षता अभिवृद्धि गर्न शिक्षाका कार्यक्रम सञ्चालन गर्ने, सबै व्युटिसियनलाई संगठनमा आवद्ध गर्ने, CTEVT मार्फत व्यवसायिक दक्षता र प्रमाणीकरणका लागि पहल गर्ने, जेनजी आन्दोलनमा क्षति पुगेका सदस्यहरूको सम्पत्तिको विवरण संकलन गरी सहयोगका लागि अभियान सञ्चालन गर्ने तथा सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समावेश गराउन अभियान चलाउने निष्कर्ष निकालेको छ।