धरान : प्रहरी सेवामा उत्कृष्ट कार्य प्रदर्शन गरेबापत धराने स्थानीयवासीबाट ‘सिंघम’ उपाधि पाएका धरान वडा प्रहरी कार्यालयका पूर्व प्रमुख, हाल निवृत्त प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्कालाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले सम्मानसहित विदाइ गरेको छ।
मंसिर १ गतेदेखि ३० वर्षे सेवाबाट अवकाश पाउनुभएका खड्कालाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले खुकुरी प्रदान गर्दै सम्मानपत्र तथा खदा ओढाएर विदाइ गरेका हुन। खड्का २०८० साल फागुन २७ गतेदेखि धरान वडा प्रहरी कार्यालयमा इन्चार्जका रूपमा कार्यरत रहँदै आएका थिए।
संगठनका धरान उपमहानगर अध्यक्ष किरण थापाका अनुसार खड्काले आफ्नो कार्यकालभर यातायात मजदुरलाई निरन्तर सहयोग र सहज वातावरण प्रदान गर्नुभएको कृतज्ञतापूर्वक स्मरण गर्दै सम्मान गरिएको हो।
बसपार्कका बुकिङ मजदुर अमित लिम्बूका अनुसार, “खड्का सापले वडामा काम गर्ने सबै मजदुरलाई कहिल्यै दुःख दिएनन। उनले मजदुरले चिया खाओस् भन्थे, तर आफूले भने कहिल्यै चिया पनि लिनु भएन।
विदाइ कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, केन्द्रीय सल्लाहकार पदम केसी, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य देवेन्द्र कार्कीलगायत बसपार्कमा कार्यरत श्रमिकको सहभागिता रहेको थियो।
कार्यक्रममा खड्काले धरानमा २१ महिनाको कार्यकालका उपलब्धि सार्वजनिक गर्दै लागुऔषध नियन्त्रणका क्षेत्रमा उल्लेख्य सफलता हात परेको बताए। उनका अनुसार ७ सय जना प्रयोगकर्ता र १५२ जना थोक विक्रेतालाई नियन्त्रणमा लिइ कानुनी कारबाही अघि बढाइयो। सो अवधिमा १ लाख ५० हजार ट्याब्लेट, २ हजार २ सय केजी गाँजा, १० ग्राम ब्राउनसुगर, ५० थान कोरेक्स, ५० थान एम्पुल–सिरिन्ज, साथै ७५ जना फरार प्रतिवादी पक्राउ गरिएको जानकारी दिए।
त्यसैगरी करीब रु२० लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान भन्सारमा दाखिला गरिएको तथा धरान बसपार्क क्षेत्रमा रहेका १५० जना सडक बालबालिकालाई विभिन्न सेल्टरमा स्थानान्तरण गरिएको पनि उनले बताए।
निवृत्त हुँदै गर्दा धरानबाटै सेवामुक्त हुन पाउनु आफूसाठी विशेष खुशीको विषय बनेको खड्काले बताए। धरान–२ वडा कार्यालयसहित करिब एक दर्जन संघ–संस्थाबाट प्राप्त सम्मानले आफूलाई आगामी दिनमा पनि समाजसेवामा समर्पित हुन प्रेरणा मिलेको उनले उल्लेख गरे।


