फिदिम । पुर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न पालिकामा अझै पनि पुर्णरुपमा दुरसञ्चार नेटवर्कको सुबिधा नपुगेकाले स्थानीयहरु डिजिटल प्राविधिबाट बन्चित हुनुपरेको भन्दै ‘द काउन्सिल अफ जेन्जी’ ले भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन् ।
जिल्लाको फालेलुङ गाउँपालिका र याङ्वरक गाउँपालिकाका विभिन्न स्थानहरुमा र आसपासका अन्य गाउँपालिकाको समेत विभिन्न स्थानहरूमा दूरसञ्चार नेटवर्क नपुगेको हुँदा स्थानीय बासिन्दाहरू दैनिक सञ्चार, शिक्षा, स्वास्थ्य सेवा, अनलाइन सरकारी सेवा, आपतकालीन सम्पर्क तथा व्यापार-व्यवसाय सञ्चालनमा समेत गम्भीर समस्या भइरहेको बताइएको छ ।
बुधबार काउन्सिलका कोशी प्रदेश संयोजक उपार्जन चाम्लिङको नेतृत्वमा माग पत्र सहित मन्त्रीलाई भेट्न पुगेका जेन्जि टोलिले विशेषतः विद्यार्थीहरूको अनलाइन डिजिटल अध्ययन, विरामी तथा आपतकालीन अवस्थामा अस्पताल तथा सुरक्षासँग सम्पर्क, स्थानीय सरकारको ई-सेवा प्रवाह, तथा विपद् व्यवस्थापन कार्यहरूमा नेटवर्कको अभावले प्रत्यक्ष नकारात्मक प्रभाव पारेको भन्दै उक्त क्षेत्रको भौगोलिक अवस्थालाई ध्यानमा राखी उपयुक्त स्थानमा दूरसञ्चार टावर (मोबाइल नेटवर्क टावर) स्थापना गरिदिनुहुन वा विद्यमान संरचनाको स्तरोन्नति गरिदिन माग गरेका छन् ।
त्यस्तै पाँचथरमा यातायात कार्याल स्थापना गर्नु पर्ने भन्दै स्थानीय सरोकारवाला संस्थाका प्रतिनिधि र द काउन्सिल अफ जेन्जि पाँचथरका प्रतिनिधिहरु द्वारा हस्ताक्षरित माग पत्र समेत मन्त्री घिसिङलाई प्रदान गरिएको छ । मेचि राजमार्ग अन्तर्गत पर्ने पाँचथरको हिलिहाङ, याङवरक, फालेलुङ गाउँपालिका र सिधै ताप्लेजुङ जोड्ने सडकको पक्की पुलहरु बर्खायामको बाढिले बगाएको तथा बेलिबृज जोड्ने क्रममा ३ जना कामदारले ज्यान समेत गुमाउनु परेको हुँदा त्यस्तो जोखिमका बाबजुद त्यस स्थानका सेवाग्राहीहरु सेवा लिन इलाम वा झापा जिल्ला पुग्नुपर्ने बाध्यता भएकोले पाँचथर जिल्लामा यातायात कार्यालय स्थापना भए ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलाम जिल्लाका आधा नागरिकलाई सहज हुने माग पत्रमा उल्लेख छ ।
पत्रमा आधिवासी जनजाति महासङ पाँचथरका अध्यक्ष सागर केरुङ, सुनुवार सेवा समाज जिल्ला समन्वय समिती पाँचथरका उपाध्यक्ष बुद्धि सुनुवार, मगर संघ पाँचथर प्रतिनिधि अशोक राना मगर तामाङ घेदुङ संघ पाँचथर अध्यक्ष राम तामाङ त्यस्तै किरात राई यायोक्खा पाचथर अध्यक्ष गणेश साम्पाङ, किरात याक्थुङ चुम्लुङ पाँचथर सचीव कमल हाङ्सुरुम्बा, द काउन्सिल अफ जेन्जीकि तेह्रथुम संयोजक विनिता लिम्बू, इलाम संयोजक भिमसेन लिम्बू , ताप्लेजुङ संयोजक गोपाल गुरागाई, पाँचथर संयोजक कुशल जवेगु, सह संयोजक विशाल राई र सचीव रोजन सुनुवारले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।




