दोस्रो संस्करणको अन्तर्राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिता धरानमा हुँदै,



धरान: अन्तर्राष्ट्रिय बक्सिङ एशोसिएसनबाट मान्यता प्राप्त प्रोफेसनल तथा एमाच्योर बक्सिङको दोस्रो संस्करण धरान फाइट नाइट आगामी माघ २३ गते धरानमा आयोजना हुने भएको छ।

धरान बक्सिङ संघले सोमबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो। देशभरबाट १४ जना खेलाडी सहभागी हुने प्रतियोगितामा गत वर्ष सम्पन्न पहिलो संस्करणका विजेता धरानका बक्सर सिंहवीर लिम्बूसहित १४ बक्सर रिङमा उत्रिने संघका सचिव महेश आले मगरले जानकारी दिए।

माघ २३ गते शुक्रबार धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङमा साँझ ४ बजेदेखि सुरु हुने प्रतियोगितामा प्रोफेसनल तर्फ सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, काठमाडौँका प्रदिप महर्जन र नाङजा बुढामगर सहभागी हुने छन। त्यस्तै नेपाल पुलिस क्लब, काठमाडौँका प्रदिप पार्की, धरानका अनिष भूजेल र मनोज तामाङ तथा नक्साल क्लब, काठमाडौँका रिवाज तामाङ पनि रिङमा उत्रिने सचिव मगरले बताए।

एमाच्योर तर्फ धरानका मौसम राईविरुद्ध धनकुटाका अविनास राई, धरानका नामसाङ लिम्बूविरुद्ध काठमाडौँका रोमश श्रेष्ठ तथा धरानका युनिक राईविरुद्ध काठमाडौँका वाङदी शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी प्रोफेसनल तर्फ महिला खेलाडी रमिशा श्रेष्ठ र नाङजा बुढा मगरबीच पनि प्रतिस्पर्धा हुने भएको छ।

प्रोफेसनल तर्फ सिंहवीर लिम्बूविरुद्ध प्रदिप महर्जन, अनिष भूजेलविरुद्ध रिवाज तामाङ तथा प्रदिप पार्कीविरुद्ध मनोज तामाङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रोफेसनल तर्फ प्रथम हुने खेलाडीलाई नगद ५० हजार र दोस्रोलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ भने एमाच्योर तर्फ प्रथमलाई १० हजार र दोस्रोलाई ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघका अध्यक्ष दिपक राईले जानकारी दिए।

पत्रकार सम्मेलन पहिलो ओलम्पियन तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष एवं धरान बक्सिङ संघका संरक्षक नरेन्द्र पोमो लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष एवं धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई (झापाली), अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई, कोशी बक्सिङ संघका उपाध्यक्ष अभिषेक श्रेष्ठ, सुनसरी बक्सिङ संघका अध्यक्ष सुधिरसिंह लिम्बू, प्रशिक्षक निमा तामाङ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थिति रहेको थियो।

धरान फाइट नाइट सम्पन्न गर्न धरान उपमहानगरपालिका, धरान खेलकुद मञ्च तथा पूर्व खेलाडीहरू गंगाप्रसाद राई, राजेश गुरुङ, ज्योतिप्रसाद लिम्बू, नवीन लिम्बू, अमृत लिम्बू र अरुण लिम्बूको सहयोग रहेको अध्यक्ष राईले बताए।

धरानमा बक्सिङको विकासका लागि संघले विद्यालय तथा कलेजका विद्यार्थीलाई निःशुल्क प्रशिक्षण दिइरहेको, धनकुटाका खेलाडीलाई धरानमै आवासीय सुविधासहित तालिम प्रदान गरिरहेको तथा भविष्यमा धरानलाई बक्सिङ क्षेत्रमा फरक पहिचान दिलाउने उद्देश्यसहित काम गरिरहेको संघका सचिव महेश आले मगरले जानकारी दिए।