झापा । नेपालकै लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करणको भोलि माघ २४ गतेदेखि डोमालाल राजवंशी रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको तयारी पूरा भएको र उद्घाटन खेलमा झापा ११ फुटबल क्लबले नेपाली पुलिस क्लबसँग खेल्दैछ ।
गोल्डकपको उद्घाटन बिर्तामोड नगरप्रमुख पवित्रादेवी महताराले गर्नेछिन् भने समापनको प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ रहेका छन् ।
झापा गोल्डकपलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष केदारी गिरीले जानकारी आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका लागि खेलमैदान र प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको उनले बताए ।
गोल्डकपका लागि झन्डै दुई महिना लगाएर उत्कृष्ट र शानदार मैदान बनाइसकिएको छ । करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ भने दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न सहज होस् भनेर कार्पेट ओछ्याइएको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।
यो प्रतियोगितालाई पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको आयोजकले जनाएको छ । बिर्तामोड नगरपालिका संरक्षक रहेको यो प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय झापाली समाज, किंग्सबेरी इन्टरटेनमेन्ट र मेची आँखा अस्पताल मुख्य सहप्रायोजक रहेका छन् ।
प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एकथान यामाहाको मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले नगद ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यो वर्ष दाताबाट प्राप्त भएबमोजिम प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।
सातौँ संस्करणको उद्घाटनका दिन मैदान परिसरमा स्वर्गीय डोमालाल राजवंशीको शालिक अस्थायी रुपमा अनावरण गरिनेछ । त्यस्तै, झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ ।
यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरिने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए ।
त्यस्तै, हिम इलेक्ट्रोनिक प्रालिको तर्फबाट बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएका एकजना दर्शकलाई एकथान ३२ इन्चको एलइडी टिभी र मोबाइल ग्यालेरी बिर्तामोडको तर्फबाट दुईजना दर्शकलाई एअरबड प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिता अवधिभरका दर्शकहरुमध्ये टिकट लिएका एकजना दर्शकलाई फाइनल खेलका दिन एकथान यामाहाको स्कुटर प्रदान गरिनेछ ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आज तयारीबारे रंगशालामा भएको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष महेन्द्रकुमार गिरी, होम पाण्डे, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।


