धरान : दोस्रो पटक क्यान्सरसँग लडिरहेकी धरान–१५ सगरमाथा लाइनकी ५२ वर्षीया ममता राई खड्काको दोस्रो किमोथेरापी गरिएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनलाई तेस्रो किमोका लागि फागुन ५ गते बोलाएको छ। तर आर्थिक अभावका कारण थप उपचार अनिश्चित बनेको छ।
मजदुर नेता भीमज्वाला राईसँगको कुराकानीका आधारमा तयार पारिएको विवरणअनुसार, ममतामा २०८१ सालको सुरुतिर स्तन क्यान्सर देखिएको थियो। नास्ट कलेजको बसका चालक रहेका उनका श्रीमान् शुक्र राईले उपचारका लागि कुनै कसर बाँकी राखेनन्। उनलाई आठ पटक किमोथेरापी गरिएको थियो भने आठ वटा इन्जेक्सन दिइएको थियो। दाहिने स्तनको शल्यक्रियासमेत गरिएको थियो। २०८१ चैतमा बीपी प्रतिष्ठानले उनलाई डिस्चार्ज दिएको थियो ।
उपचारमा करिब १३ लाख रुपैयाँ खर्च भएको थियो। सरकारी सेवाबाट प्राप्त हुने एक लाख रुपैयाँबाहेक उपचार खर्च जुटाउन शुक्र राईले धनकुटाको बुढीमोरङस्थित जग्गा बिक्री गर्नुका साथै ऋणसमेत लिनुपरेको थियो। ठूलो खर्च गरेर श्रीमतीको उपचार गराई जीवन जोगाएकामा उनी खुसी थिए। तर ममतामा पुनः दोस्रो पटक क्यान्सर देखिएको चिकित्सकले बताएपछि उनी गम्भीर समस्यामा परेका छन्।
करिब एक महिनादेखि ममतालाई खोकीले सताएपछि बीपी प्रतिष्ठानमा परीक्षण गराउँदा क्यान्सर पेटतर्फ फैलिएको र पुनः किमोथेरापी गर्नुपर्ने चिकित्सकले बताएका छन्। पहिलो किमोपछि बायोप्सी परीक्षणका लागि नमुना पठाइएको छ। दोस्रो किमो माघ २७ गते गरिएको र तेस्रो किमोका लागि फागुन ५ गते बोलाइएको शुक्र राईले जानकारी दिए।
“बायोप्सीको रिपोर्ट एक हप्तामा आउने भनिएको छ। रिपोर्ट आएपछि औषधि उपचार त गर्नैपर्छ। तर पहिलो उपचारमै सबै सकियो, अब कसरी उपचार गर्ने भन्ने चिन्ता छ,” उनले भने।
उनका अनुसार उपचारका लागि बिक्री गर्न सकिने सम्पत्ति बाँकी छैन। “धरान–१५ सगरमाथा लाइनमा पाँच धुर जग्गामा बनेको तीन कोठाको सानो घरबाहेक अरू केही छैन,” उनले भने। उनले आफू पनि प्रेसर र सुगरका बिरामी रहेको र मासिक चार हजार पाँच सय रुपैयाँ बराबरको औषधि सेवन गर्नुपर्ने बताए। ३३ वर्षीय जेठो छोरा मानसिक रोगबाट पीडित रहेको र उसका लागि मासिक दुई हजार छ सय रुपैयाँ औषधि आवश्यक पर्ने उनले बताए। कान्छो छोरा वैदेशिक रोजगारीमा रहे पनि मजदुरीबाट आएको आम्दानीले घर खर्च धान्न कठिन भएको उनको भनाइ छ।
“जसरी भए पनि श्रीमतीलाई बचाउन चाहन्छु। सबैको साथ पाए श्रीमतीको जीवन जोगाउन सक्छु भन्ने लागेको छ,” उनले भने।
२०४६ सालदेखि यातायात मजदुरीमा संलग्न शुक्र राई २०४९ सालदेखि चालकका रूपमा विभिन्न रुटमा बस चलाउँदै आएका छन्। उनी दुई वर्षदेखि धरानस्थित नास्ट कलेजको बस चालकका रूपमा कार्यरत छन्। यसअघि उनले धरान–१५ मै रहेको केके इन्टरनेशनल स्कुलको बस चलाउँदै आएका थिए।
मंगलबार बीपी प्रतिष्ठानमै पुगेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई तथा धरान नगर अध्यक्ष किरण थापाले बिरामी ममता राई खड्का र उनका श्रीमान् शुक्र राईलाई भेटेका थिए। संगठनका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउँदै उपचारका लागि सबैसँग सहयोगको आह्वान समेत गरिएको छ।



