जनभावना अनुसार एमालेले युवा उम्मेदवार अघि सारेको मतदाताको प्रतिक्रिया



धरान :  नेकपा (एमाले) का सूर्य ध्वजावाहक उम्मेदवार टीकाराम लिम्बूलाई आफ्नै घरमा पहिलो पटक देखेपछि धरान–१५, श्यामचोककी इन्द्रकला लावतीले सूर्य चिह्नमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेकि छिन।

लावतीले भने, उम्मेदवार भनेपछि उमेर ढल्केका व्यक्ति हुन्छन् भन्ने सोच थियो, तर एमालेले समयको माग र जनभावना अनुसार युवा उम्मेदवार अघि सारेको रहेछ । हाम्रो मत सूर्यलाई नै जान्छ ।

एमालेले धरान–१५ मा आयोजना गरेको घरदैलो कार्यक्रम श्यामचोकस्थित मनमोहन अधिकारी को सालिकमा माल्यार्पण गर्दै शुभारम्भ गरिएको थियो ।

श्यामचोककै व्यवसायी रमेश राईले उम्मेदवार टीकाराम लिम्बू तथा समानुपातिकतर्फका उम्मेदवार मौसम राईलाई खादा ओढाएर स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका छ्न । 

एमाले धरान–१५ वडा निर्वाचन परिचालन समितिका संयोजक मोतीराज सुनुवारले उम्मेदवारलाई सबै वडावासीको घरदैलोमा पुगेर आशिर्वाद ग्रहण गराउने कार्यक्रम तय गरिएको जानकारी दिए ।

प्रचार समितिका संयोजक भीमज्वाला राईका अनुसार माघ २५ देखि २८ गतेसम्म बराहक्षेत्र क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो ।

उनका अनुसार माघ २९ गतेदेखि धरानका विभिन्न वडासहित रामधुनी नगरपालिकाका दुई वडामा जनतासँग भेटघाट गरिनेछ । साथै, फागुन १८ गतेसम्म सबै वडामा निरन्तर भेटघाट तथा जनतासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गरिने प्रचार संयोजक राईले बताए ।