धरान :सुनसरी क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बूले रामधुनी नगरपालिका–६ र ७ का विभिन्न बस्तीहरूमा घरदैलो अभियानलाई तीव्र बनाएका छन । अभियानका क्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनले विकास तथा जनजीविकासँग जोडिएका विषयमा प्रतिबद्धता व्यक्त गरिरहेका छन ।
रामधुनी–६ मोहिनीस्थित मुसहर बस्तीकी स्थानीय मतदाता सिता देवीले २०७४ सालको निर्वाचनमा तत्कालीन उम्मेदवार भीम आचार्यले पुल निर्माण गर्ने वाचा पूरा गरेको स्मरण गर्दै यस पटक लिम्बूले पनि स्थानीय समस्याको समाधान गर्ने विश्वास व्यक्त गरिन् । उनले यहाँका बासिन्दाले विकासको निरन्तरताका लागि लिम्बूलाई समर्थन गर्ने बताइन् ।

उम्मेदवार लिम्बूका अनुसार रामधुनी–७ को मुसहर बस्तीमा जनआवास कार्यक्रम अन्तर्गत १०० भन्दा बढी घर निर्माण भइसकेका छन् । उनले एमाले नेतृत्वमा लागू गरिएको उक्त कार्यक्रमले गरिब तथा पिछडिएका समुदायलाई ठूलो राहत दिएको उल्लेख गर्दै आफू मजदुर र किसान वर्गको हितका लागि उम्मेदवार बनेको बताए ।
रामधुनीकै अर्का मतदाता जनक यादवले स्थानीय समस्याप्रति उम्मेदवार र पार्टी जिम्मेवार बन्नुपर्ने बताए । उनले टिकाराम लिम्बूप्रति आशा र विश्वास रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा समर्थन गर्ने धारणा व्यक्त गरे ।
यस क्षेत्रका मतदाताबीच लिम्बूको पक्षमा समर्थन बढ्दै गएको बताइन्छ । स्थानीयवासीले उनको नेतृत्वमा रामधुनीको विकास र समृद्धि सम्भव हुने विश्वास व्यक्त गरिरहेका छन् ।
घरदैलो अभियानमा बकलौरीका पुराना पार्टी सदस्य खेमनाथ दाहाल, ज्येष्ठ नागरिक पन्दुकी शेर्पा तथा वामपन्थी अग्रज नेता छविलाल चौधरी सक्रिय रूपमा सहभागी छन् । अभियानमा समानुपातिक उम्मेदवार मौसम राईको समेत सहभागिता रहेको छ ।



