बुढासुब्बा गोल्डकपः आज फाइनल खेल शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच हुँदै,



धरान : धरानमा गत माघ २२ गतेदेखि जारी अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६औँ संस्करण उपाधिका लागि आज शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ । 

फाइनल खेलअघि शुक्रबार धरान रङ्गशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान तथा प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छ्न । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टोली सशक्त रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरे । प्लानिङ ब्वाइजका प्रशिक्षक सन्दित सिंहले बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाए पनि ऐतिहासिक जित हासिल गर्ने लक्ष्यका साथ टोली फाइनलमा उत्रिने बताए । गत वर्षको संस्करणमा चर्च ब्वाइज उपविजेता बनेको थियो भने प्लानिङ ब्वाइजले यस प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको हो ।

प्रतियोगिताका विजेताले नगद रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

त्यसैगरी खेलको ‘म्यान अफ दी म्याच’ लाई रु १० हजार प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।