धरान : पाँचकन्याको हातबाट टीका ग्रहण गर्दै एमाले उम्मेदवार टीकाराम लिम्बू र मौसम राईले धरान–४ नम्बर वडामा घरदैलो कार्यक्रम शुभारम्भ गरेका छन्। उम्मेदवारहरुलाई धरान–४ का वडा अध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्य चिन्हमा मतदान गर्न वडावासीलाई आह्वान गरेका छन्।
शनिबार धरान–४ को खैरेनीटार काठेपुलबाट घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको हो। वडा अध्यक्ष राईले यो संघीय निर्वाचन भएकाले एमालेको आधार क्षेत्र रहेको यस वडाबाट सूर्य चिन्हमा मतदान गर्न वडावासीलाई आग्रह गरे।
उम्मेदवारहरुलाई पाँचकन्याहरुले कलशसहित स्वागत गर्दै टीका र रुद्राक्षको माला लगाइदिएर अभियानको शुभारम्भ गरेका थिए। कार्यक्रममा निर्वाचन परिचालन समितिका सह–संयोजक प्रदीप भण्डारी, प्रदेश सांसद विजयकुमार राई, रमेश बस्नेत, निर्वाचन परिचालन, प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राई, निर्वाचन परिचालन ‘हाईकमाण्ड’ का जयकुमार राई, सुशीला पहाडी, मीनकुमार सुब्बा लगायत सहभागी थिए।
निर्वाचन परिचालन समिति धरान–४ का संयोजक राजन चाम्लिङका अनुसार आज धरान–४ अन्तर्गत खैरेनीटार, बसन्तटार, किरात बस्ती, पत्रुङबारी लगायतका टोलका मतदातासँग उम्मेदवारहरुको साक्षात्कार गराइनेछ।
कार्यक्रममा नेकपा (एमाले) वडा नम्बर ४ का अध्यक्ष दोर्ण कट्वालले वडा एमालेको जनआधार रहेको वडा भएकाले यसपटक पनि सूर्य चिन्हमै मतदान हुने विश्वास व्यक्त गरे।


