धरान : नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार धरानमा पत्रकार सम्मेलनमार्फत एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचन परिचालन कमिटीकि संयोजक मन्जु भण्डारीले स्लाइडमार्फत घोषणापत्र सार्वजनिक गरिन् ।
एमालेले ‘विकासमा हाम्रो दूरदृष्टि : शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं. १ को समृद्धिको आधार’ भन्ने नारासहित प्रतिबद्धता सार्वजनिक गरेको छ ।
एमालेले आर्थिक क्षेत्र विकास (इकोनोमिक करिडोर) को अवधारणाअनुसार धरानका ४,५,६, ८,११,१७, २० वडा सहित ४२ किलोमिटर सडक निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । एमालेले धरान सभागृह र नाटक घर निर्माण सम्पन्न गर्ने वाचासमेत गरेको छ ।
धरान–लेउती सुरुङ मार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाउने, धरान–चतरा–बराहक्षेत्र र धरान–भेडेटार सडकको स्तरोन्नति गर्ने, पुल तथा लिंक रोड, अँधेरी खोला, कोकाह र सेउती खोला लगायतका स्थानमा बाँकी रहेका पुलहरूको निर्माण सम्पन्न गर्ने साथै धरानदेखि भेडेटार वा नाम्जेसम्म सार्वजनिक-निजी साझेदारीमा केबलकार सञ्चालन गर्ने एमालेको प्रतिबद्धता छ ।
हेर्नुहोस् प्रतिबद्धतापत्र







