निर्वाचन जनमतको मोडमा: सुनसरी–१ मा एमालेको चुनावी सभा,



धरान : नेपाल कम्युनिष्ट पार्टी  एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले देश वर्तमान अवस्थामा विभिन्न राजनीतिक, आर्थिक तथा संस्थागत चुनौतीबीच गुज्रिरहेको सन्दर्भमा आगामी निर्वाचनलाई संविधान कार्यान्वयन र राजनीतिक स्थायित्वसँग प्रत्यक्ष रूपमा जोडिएको बताए।

आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनलाई देश बनाउने कि भत्काउने भन्ने जनमत सङ्ग्रहका रूपमा उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे।

संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न तथा लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न नियमित र निष्पक्ष निर्वाचन अपरिहार्य रहेको उनले बताए। राजनीतिक अस्थिरता, नीति निर्माणमा देखिएको असमानता तथा विकास प्रक्रियामा देखिएका अवरोध हटाउन जनताबाट स्पष्ट जनादेश आवश्यक रहेको उनले उल्लेख गरे।

आर्थिक अवसरमा समान पहुँच, सामाजिक न्याय तथा वञ्चित समुदायको सशक्तीकरणलाई नीतिगत प्राथमिकतामा राख्दै भविष्य सुरक्षित गर्न युवाशक्ति उत्पादनमुखी क्षेत्रमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन राजनीतिक स्थायित्व अपरिहार्य रहेको उल्लेख गर्दै उनले वर्तमान व्यवस्थालाई कमजोर बनाउने गतिविधिप्रति सचेत रहन आग्रह गरे। व्यवस्थाको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय हितको संरक्षणका लागि आगामी निर्वाचन निर्णायक हुने उनको भनाइ थियो।

देश अहिले जटिल अवस्थाबाट गुज्रिरहेको छ। यस्तो बेला सही नेतृत्व आवश्यक छ, त्यसका लागि एमालेको नेतृत्व अपरिहार्य छ,उनले भने।

(सुनसरी–१ मा एमालेको दाबीः ‘इतिहास दोहोरिन्छ)

२०४८ सालदेखि निरन्तर जित निकाल्दै आएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरी निर्वाचन क्षेत्र नं. १ मा फागुन २१ को निर्वाचनमा पुन इतिहास दोहोरिने दाबी गरेको छ।

आयोजित चुनावी सभामा अधिकांश नेताहरूले विगतको संगठनात्मक बल र जनसमर्थनका आधारमा एमालेको जित सुनिश्चित हुने दाबी गरेका छन्। जेनजी आन्दोलनको मर्मअनुसार पार्टीले युवा उम्मेदवार टिकाराम (टिका माङ्लेन) लिम्बूलाई अघि सारेको बताएका छन्।

एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी–१ निर्वाचन परिचालन कमिटी संयोजक मञ्जु भण्डारीले पार्टी नेतृत्वमा भएका विकास निर्माणका कामलाई निरन्तरता दिन एमालेको जित आवश्यक रहेको बताइन्।

उनका अनुसार धरानका अधिकांश सडक आयोजना, खानेपानी आयोजना र बसपार्क निर्माण एमाले नेतृत्वकै समयमा अघि बढेका थिए।

हामीले सुरु गरेका योजनालाई अरूले आफ्नो उपलब्धि भन्दै प्रचार गरिरहेका छन ,उनले भनिन,

सुनसरी–१ का योजनालाई गति दिन र केन्द्रमा प्रभावकारी नीति निर्माणका लागि पढेलेखेका युवा उम्मेदवार टिकाराम लिम्बूलाई अघि सारिएको स्पष्ट पारिन्।

निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार टिकाराम लिम्बूले आफूले इमान्दारीका साथ देखिने, सुन्ने र नागरिकले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै विकास योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उनको भनाइ थियो।

एक पटक अवसर दिनुहोस्, तपाईंहरूले महसुस गर्ने गरी काम गर्नेछु। जनताका समस्या समाधानमा मेरो स्पष्ट प्रतिबद्धता रहनेछ, उनले भने।

पूर्वाधार, सेवा र उत्पादनमा आत्मनिर्भर क्षेत्र विकासका लागि ‘सतिसालझैँ उभिएर’ काम गर्ने उनले उद्घोष गरे।