सुनसरी : मानवता नै लज्जित हुने गरी सुनसरीको बराहक्षेत्रमा एक नाबालिकामाथि गरिएको निर्मम कुटपिट घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत चैत १२ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बराहक्षेत्र नगरपालिका–२ स्थित पुनर्वासको वाईस बिघे जंगलमा १३ वर्षीया नाबालिकामाथि निर्घात कुटपिट गरिएको देखिएको थियो। भिडियो भाइरल भएसँगै घटनाले व्यापक ध्यान तानेको थियो।
घटनालाई गम्भीर रूपमा लिँदै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले तत्काल अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
अनुसन्धानका क्रममा बराहक्षेत्र–२ नहरचौक बस्ने २१ वर्षीय सुदिन राई, २० वर्षीय निशान राई र एक १७ वर्षीय नाबालकलाई क्रमशः चैत १३, १४ र १५ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप अनुमति समेत प्राप्त भइसकेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको !


