बाल साहित्यप्रति आकर्षण बढाउँदै इटहरीमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न



सुनसरी : यमुना पराजुली अधिकारीसँगको सहभागितामा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल, इटहरीमा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजना गरिएको बाल कथा पठन तथा लेखनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम भव्य र प्रभावकारी रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै बाल साहित्यप्रति गहिरो रुचि, जिज्ञासा तथा सिर्जनात्मक सोच प्रस्तुत गरेका थिए। विशेषगरी साहित्यकार अधिकारीका चर्चित कृतिहरू झगडाको ओखती र कान्छू माथि गरिएका समीक्षा तथा छलफलले कार्यक्रमलाई ज्ञानमूलक, प्रेरणादायी र जीवन्त बनाएको थियो।

कक्षा ३ का विद्यार्थी अनुभव रेग्मीले “झगडाको ओखती” बाट भावपूर्ण अंश वाचन गरेका थिए भने कक्षा ६ की छात्रा प्रज्ञा भट्टराईले “कान्छू” बाट रोचक प्रस्तुति दिएकी थिइन्। उनीहरूको आत्मविश्वासपूर्ण प्रस्तुतीले उपस्थित सबैलाई आकर्षित गर्दै कार्यक्रमको स्तरलाई थप उचाइमा पुर्‍याएको थियो।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले कथा लेखनका विधि, विषयवस्तु छनोट, पात्र निर्माण तथा सिर्जनात्मक शैलीबारे जिज्ञासापूर्ण प्रश्नहरू राखेका थिए। त्यस अवसरमा साहित्यकार अधिकारीले सरल र प्रेरणादायी शैलीमा उत्तर दिँदै सफल लेखनका लागि कल्पनाशक्ति, निरन्तर अभ्यास, अनुशासन र लगनशीलता अनिवार्य हुने धारणा व्यक्त गर्नुभयो।

विद्यालयका प्राचार्य पद्मराज सापकोटाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्नुका साथै सिर्जनात्मक लेखनप्रति आकर्षण र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यस प्रकारका शैक्षिक तथा सिर्जनात्मक गतिविधिहरूले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा टेवा पुर्‍याउँदै विद्यालयको शैक्षिक वातावरणलाई अझ समृद्ध बनाउने अपेक्षा गरिएको छ।