“कामदार दोषी, मालिक उन्मुक्त: झापा लागूऔषध केसमा उठे गम्भीर प्रश्न”



झापा, बिर्तामोड–५ मा ठूलो परिमाणमा लागूऔषध बरामद भएको बहुचर्चित घटनामा पक्राउ परेका भानुभक्त खरेललाई अदालतले सफाई दिएको छ भने उनका कर्मचारी अर्जुनधारा–६ का २५ वर्षीय विनोद घिमिरेलाई दोषी ठहर गर्दै सजाय तोकेको छ। अदालतको यस फैसलाले गम्भीर प्रश्नहरू उठाएको छ।

जिल्ला अदालत झापाले खरेललाई गोदाम उनकै नभएको, घटना हुँदा उनी भारतमा रहेको र उनको भनिएको सनलाइट फर्माबाट लागूऔषध नबरामद भएको आधारमा फागुन ४ गते सफाई दिएको हो। तर, उनको मोबाइल कल डिटेलले उनी सोही दिन नेपालमै रहेको संकेत गर्ने आधार हुँदाहुँदै अदालतले त्यसलाई बेवास्ता गरेको देखिएको छ।

प्रहरी अनुसन्धान अनुसार बरामद गरिएको गोदाम खरेलकै भएको दाबी गरिए पनि अदालतमा साक्षी बयान फेरिएको आशंका गरिएको छ। घरधनी संग्रौला परिवारले गोदाम खरेललाई दिएको स्वीकार गरेको भिडियो प्रमाण समेत रहेको छ।

यता, अदालतले विनोद घिमिरेलाई घटनास्थलमा उपस्थित रहेको आधारमा दोषी ठहर गर्दै सजाय सुनाएको छ । मालिक भनिएका व्यक्ति सफाई पाउने र कर्मचारी मात्र दोषी ठहर हुने अवस्थाले न्याय प्रक्रियामाथि नै प्रश्न उठाएको छ।

राजनीतिक रूपमा नेकपा एमालेसँग आबद्ध खरेल घटनामा जोडिएपछि पार्टी र सम्बन्धित संगठनबाट निलम्बित भएका थिए।

प्रहरीले सो घरबाट लाखौँ मूल्य बराबरको ट्रामाडोल क्याप्सुल, इन्जेक्सन, ट्याब्लेट तथा अन्य औषधि बरामद गरेको थियो।
यो फैसलाले “प्रमाणको मूल्यांकन कसरी भयो?” भन्ने प्रश्नलाई थप चर्काएको छ।