निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै बिर्तामोड चिल्ड्रेन अस्पताल



धरान : झापाको बिर्तामोडस्थित बिर्तामोड चिल्ड्रेन अस्पतालले नव वर्ष २०८३ को अवसर पारेर बालबालिकालाई लक्षित गर्दै विशेष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

अस्पतालले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै वैशाख ७ गतेदेखि २१ गतेसम्म शिविर सञ्चालन गरिने जानकारी दिएको हो।

अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा। सुजता मैनाली आचार्यका अनुसार शिविर अवधिभर ओपीडी सेवा निःशुल्क उपलब्ध गराइनेछ भने अन्य ल्याब परीक्षणमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

नवजात शिशुदेखि बालबालिकासम्मका बिरामीलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सक टोलीमार्फत सेवा प्रदान गरिने उनले बताइन्। साथै, बाल रोग तथा पोषणसम्बन्धी समस्याको पहिचान र उपचारमा विशेष ध्यान दिइने जनाइएको छ।

अस्पतालका प्रबन्ध निर्देशक डा.रुपक आचार्यले आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकालाई राहत पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। उनका अनुसार विपन्न तथा ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीलाई स्थानीय तहको सिफारिसमा थप छुटको व्यवस्था गरिनेछ।

अस्पतालले आधुनिक उपकरणसहित २४ सै घण्टा सेवा प्रदान गर्दै आएको जनाउँदै आगामी दिनमा यस्ता शिविरलाई निरन्तरता दिइने जनाएको छ।

अस्पतालकी अध्यक्ष लीला मैनालीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सल्लाहकार संयोजक मदनगोल सुब्बाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।