सुनसरी : पाँचथरको फिदिम नगरपालिका–१ र ११ को सिमाना छुट्याउने फेमे खोलामा ५० मिटर लामो बेलिब्रिज सञ्चालनमा आएपछि आवागमन सुचारु भएको छ।

फिदिम याङनाम–प्राङवुङ–फालौट सडकअन्तर्गत उक्त स्थानमा निर्माण गरिएको बेलिब्रिज आइतबार बिहानदेखि सञ्चालनमा आएको हो।
यसअघि उक्त स्थानमा रहेको पक्की पुल २०८१ साल असोज १२ गते आएको बाढीले बगाएको थियो। पुल बगाएपछि यहाँ डाइभर्सनमार्फत यातायात तथा ढुवानीका साधन सञ्चालन हुँदै आएको थियो। तर पटक–पटक आउने बाढीले डाइभर्सन बगाउँदा आवागमन प्रभावित हुने गरेको थियो।
कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, पाँचथरले बेलिब्रिज निर्माण गरेको हो। उक्त बेलिब्रिज काबेली खोलाबाट ल्याई ‘पुस एन्ड पुल’ प्रविधिबाट जडान गरिएको जनाइएको छ।
बेलिब्रिज निर्माणका लागि एक करोड ३९ लाख ८२ हजार ५६२ रुपैयाँ खर्च भएको छ। निर्माण कार्य एसएस सुनगाभा निर्माण कम्पनीले ठेक्का सम्झौतामार्फत सम्पन्न गरेको हो।
बेलिब्रिज सञ्चालनमा आएसँगै फिदिम–फालौट सडकखण्ड हुँदै हुने सवारी आवागमन सहज हुने स्थानीयको अपेक्षा छ।
यद्यपि, विगतमा आएको बाढीले खोलाको भिरालो क्षेत्रमा ठूलो भूभाग कटान गरी बगर बनाएकाले पुनः बाढी आएमा जोखिम कायमै रहेको प्राविधिकहरुले बताएका छन्।



